• २२ वैशाख २०८२, सोमबार

खुल्यो कोरला नाका

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), मङ्सिर १ गते । चार वर्षपछि मुस्ताङको कोरला नाका पुनः व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । चीन सरकारले कोरोना महामारीका कारण २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द गरेको थियो । कात्तिक २७ गते सोमबार नाका पुनः सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह छाएको छ । नाका सञ्चालनको पहिलो दिन ठुलो सङ्ख्यामा मुस्ताङवासीहरू कोरला पुगेका थिए । 

नाका बन्द हुँदा माथिल्लो मुस्ताङका दुई वटा गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित बनेको थियो । हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका समयमा नाका सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार चीन सरकारले कोरला नाका खुला गरेको हो । माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षित गरेर नाका सञ्चालनमा ल्याइएको बताइन्छ । सो नाकाको गत सोमबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र चीनको सिगात्से प्रान्तको झोम्बा काउन्टीका मेजेस्ट्री नुर्बु छिरिङले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । 

कोरलामा नेपालतर्फ चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । 

नाका सञ्चालन गर्नका लागि नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले जानकारी दिनुभयो । नाका पुनः सञ्चालन भएको खुसियालीमा चीन सरकारले माथिल्लो मुस्ताङवासीका लागि उपहारस्वरूप एक लाख केजी खाद्यान्न उपलब्ध गराएको उहाँले बताउनुभयो । माथिल्लो मुस्ताङमा प्रायः चीनका सामान उपभोग गरिन्छ । पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुगेका सामान तेब्बर महँगो हुन्छ । नाका सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र निर्माण सामग्री सुलभ दरमा आयत भएको लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी विष्ट गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत चार वर्षदेखि नाका पूर्ण रूपमा बन्द हुँदा स्थानीयको दैनिक जनजीवन कष्टकर बन्यो ।” 

नाका सञ्चालन भएसँगै व्यावसायिक कारोबार हुन थालेपछि स्थानीय उत्साहित भएको लोमान्थाङ गाउँपालिका–२ का वडाध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो । उहाँका अनुसार चिनियाँ भूभागमा प्रवेशका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई प्रवेश अनुुमतिपत्र वितरण गरिएको छ । आगामी दिनमा मुस्ताङका सबै पालिकावासीलाई प्रवेश अनुमति दिनेबारेमा मौखिक सहमति भएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाललाई दुई गाउँपालिकाका स्थानीयहरू मात्र प्रवेश अनुमतिपत्रका आधारमा कोरला नाकादेखि तिस किलोमिटर चीनको भूभागसम्म जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउँछन् ।”

अब चाँडै सबै मुस्ताङवासीलाई प्रवेश अनुमतिपत्र दिनेबारेमा चिनियाँ पक्ष सकरात्मक देखिएको उहाँले बताउनुभयो । नाका सञ्चालनमा आएसँगै नेचुुङ भन्सार कार्यालयलाई नियमित सञ्चालन गरिएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । गण्डकी प्रदेशको नवलपुरको गैँडाकोटदेखि मुस्ताङको कोरलासम्म ४३५ किमी लामो सडकलाई कालीगण्डकी करिडोर नामकरण गरिएको छ । यो सडक हाल निर्माणधीन अवस्थामा छ । यता चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न पूर्वाधार निर्माण गरेको छ । नाका सञ्चालन आएपछि माथिल्लो मुुस्ताङका सर्वसाधरणले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, जडीबुटी, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात गरिने छ ।