• २८ पुस २०८१, आइतबार

गौरीघाटस्थित बागमती नदीमा छठ पूजास्थल निर्माण गरिँदै

blog

काठमाडौंको गौरीघाटमा छठपर्व मनाउन सरसफाई गरिँदै । तस्बिर : नवीन पौडेल-रासस

काठमाडौं, कात्तिक ३० गते । राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । शनिबारसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।

गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवम् छठी माताको मूर्ति राख्ने काम जारी रहेको उहाँले बताउनुभयो । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु हुँदैछ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको धार्मिक विश्वास छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । यसअघि तराई-मधेशका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । तराई-मधेशका साथै पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएको छ ।