• १ जेठ २०८३, शुक्रबार

जडीबुटी छ, प्रशोधन केन्द्र छैन

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ १ गते । जडीबुटीको थलो रहेको कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र छैन । सङ्घीयता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दासम्म पनि प्रदेश सरकारले जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन । साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइएको भए पनि काम सुरु हुन नसकेको कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

जडीबुटी खेती प्रवर्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रूपमा बिक्रीवितरण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताउनुभयो । जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको भन्दै प्रशोधन केन्द्र निर्माण गरेर जडीबुटी संरक्षणका योजना राखिएको नेपालीले जानकारी दिनुभयो । 

सरकारले कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भए पनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन । वनस्पति विज्ञका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेका छन् । यहाँबाट ७९ प्रकारका जडीबुटी निर्यात गरिन्छ । कर्णालीमा १४७ जातको जडीबुटी पाइने अनुमान गरिए पनि प्रशोधन भण्डारणका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता छ । 

कर्णालीका अधिकांश जडीबुटी बाह्य देशमा निर्यात हुँदै आएको छ । सरकारी तथ्याङ्क अनुसार वार्षिक करिब १२ हजार मेट्रिक टन जडीबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ । ती सबै जडीबुटी प्रशोधनबिना नै कच्चा पदार्थका रूपमा निर्यात हुने गरेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ ।

कच्चा पदार्थका रूपमा मात्र बहुमूल्य जडीबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा यसबाट जति लाभ लिन सक्नुपर्ने हो त्यसको निकै थारै मात्र प्राप्त भएको जनाइएको छ । प्रदेश सरकारले आफ्नै लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेको छैन निजी लगानीमा निर्माण गरिएका प्रशोधन केन्द्र पनि प्रभावकारी छैनन् । कर्णालीका विभिन्न जिल्लामा निर्माण गरिएका प्रशोधन केन्द्र अलपत्र छन् । 

वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहारमा बर्सौंअघि निर्माण गरिएको जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र अलपत्र छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडीबुटी सङ्कलन गर्न २०६८ सालमा सुर्खेत उद्योग वाणिज्य सङ्घले केन्द्रको भवन निर्माण सुरु गरेको थियो । केन्द्रको पूर्वाधार निर्माणका लागि निजी–साझेदारी मोडेलमा काम सुरु गरिएको थियो । 

डोल्पा जिल्लाको त्रिपुराकोटमा रहेको जडीबुटी प्रशोधन केन्द्र पनि अलपत्र छ । जिल्लामा पाइने जटामसी, भुल्ते, सोत्तर र बोझोलगायतका एक सयभन्दा धेरै जडीबुटी जिल्लामै प्रशोधन गरी बिक्रीवितरण गर्ने उद्देश्यले स्थापना गरिएको सो प्रशोधन केन्द्र प्रयोगविहीन बनेको हो ।