लिलाधर वली
घोराही, कात्तिक ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचेनीमा स्थानीयवासीसँग भेट गर्नुहुँदै मन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताउनुभयो ।
निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु गरिरहेको भन्नुहुँदै आगामी दिनमा थप काम हुने बताउनुभएको छ । मन्त्री शर्माले भन्नुभयो, ‘‘भौगोलिक रुपमा पहाडी क्षेत्र भएकाले बंगलाचुली गाउँपालिकामा धेरै समस्याहरु छन् । ती समस्याहरु समाधानका लागि आफुले सकेजति पहल गरिरहेको छु र कामहरु पनि भइरहेका छन् ।’’
बंगलाचुली आफ्नो निर्वाचन क्षेत्र पनि भएको र निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको बताउनुभयो । आफुले निर्वाचन जितेपछि आफ्नो क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको भन्नुहुँदै आगामी दिनहरुमा पनि विकास निर्माणका कामहरु हुने जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्री शर्माले प्युठान र घोराहीलाई जोड्ने मुख्य सडकका रुपमा रहेको घोराही–मुर्कुटी–प्युठान सडकको गुणस्तर सुधारका लागि समेत पहल गर्ने बताउनुभयो ।
भेटघाट कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले बचनीको खानेपानी समस्या, घोराही–मुर्कुटी–प्युठान सडक खण्डको अवस्था सुधारलगायतका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।