सिराज खान
नेपालगन्ज, कात्तिक २९ गते । पछिल्लो समय बाँकेमा बढ्दै गएका इरिक्सा सडक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । जिल्लामा करिब १५ हजारको सङ्ख्यामा रहेका विद्युतीय रिक्साले गर्दा दुर्घटना बढ्नुका साथै अन्य ट्राफिक व्यवस्थापनमा समस्या थपिँदै गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेमा गत आर्थिक वर्षमा इरिक्सा दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने सोही अवधिमा १८ जना गम्भीर घाइते भएका थिए ।
चालू आर्थिक वर्षमा पनि हालसम्म इरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले जिल्लामा इरिक्साका कारण ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको बताउनु हुँदै सरोकारवालासँग व्यवस्थापनका लागि विभिन्न पहल गरिरहेको बताउनुभयो ।
उहाँले इरिक्साका कारण सडकमा दुर्घटना बढ्दै गएको बताउनुहुँदै मनोमानी ढङ्गले इरिक्सा चल्ने गरेकाले समस्या झन थपिँदै गएको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रमुख सुवेदीले थप्नुभयो, ‘इरिक्सा चालकसँग न चालक अनुमति पत्र छ न सवारी बोक्ने साधनको वैधानिकता छ । न त उनीहरुले हर्न र ऐनाकै राम्रो प्रयोग गर्ने गरेका छन् । अधिकाशंले एक हातले रिक्सा चलाउँछन् । यी सबै कारणले दुर्घटना बढ्दै गएका छन् ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार रातो नम्बर प्लेटका इरिक्साले पनि यात्रु ओसारिरहेकोले हाल आएर उनिहरुलाई यात्रु ओसार्न प्रतिबन्ध लगाइएको छ । यसमा कडाइ गर्न नेपालगन्ज उपमहानगरपालिकाले केहीदिनपछि कडा अनुगमन गर्ने छ ।
नेपालगन्जमा इरिक्सा चलाउने अधिकाशं चालकहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना नै इ–रिक्सा चलाइरहेकले ती चालकलाई लाइसेन्स लिन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी कार्यालयले अब कडाइ गर्ने भएको छ ।
रातो नम्बर प्लेटका इरिक्सालाई कालो नगराएको अवस्थामा प्रचलित कानुन बमोजिम कार्वाही गरिने पनि उपमहानगरले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा हाल दुई हजार ८०० इरिक्सा मात्र सूचीकृत भएका छन् । करिब १२ हजार रिक्सा अझै सूचीकृत भएका छैनन् ।
नेपालगन्जले थेग्न सक्नेभन्दा ठूलो सङ्ख्यामा इरिक्सा गुडेकाले त्यसलाई नियमन गर्न इ–रिक्सा व्यवस्थापनको कार्य प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक छ ।