• २२ वैशाख २०८२, सोमबार

नेपालमै ईटा बनाएर गर्न सकिन्छ लाखौं आम्दानी

blog

ईटा बनाउन व्यस्त जवाहर, गोपीचन र ईश्वर मुखिया । तस्विर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २९ गते । सबैका घरमा तिहारको समझम भए पनि यहाँ तीन जना तिहारको पर्वाह समेत नगरी बिहानैदेखि रातिसम्म इटा बनाउनमै तल्लीन हुनुहुन्छ । 

बाराको सिमरौनगढ नगरपालिका–१ का जवाहर मुखिया म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा आएर इटा बनाउने काम गर्न थालेको १२ वर्ष भयो । दैनिक एक जनाले सरदर ६ देखि ७ सय इटा बनाउन सकिने र एउटा इटा तयार गरेको साढे दुई रुपियाँ पाउने भएपछि आम्दानी पनि राम्रो नै देखिन्छ । 

यस वर्ष जवाहरसँगै अरु दुई जना पनि बाराबाटै ईटा बनाउने कामका लागि रत्नेचौर आएका छन् । चिसो सिरेटो चल्ने रत्नेचौरमा बिहानको साढे ६ बजे देखि तीन जनाको टोली माटोसँग खेल्न थाल्छन् । ४६ वर्षीय जवाहर मुखिया, ४० वर्षीय गोपीचन मुखिया र ३८ वर्षीय ईश्वर मुखियाको दैनिकी बिहान साढे ६ बजे सुरु भएको काम सकिन रातको झण्डै ८ बज्छ । 

हरेक दिन बिहान मुछेको माटोको ईटा बनाउन थालेर सुरु भएको दैनिकिले बेलुका सुकेका ईटाको चाङ लगाएपछि भोलि पल्ट ईटा बनाउन माटो तयार गरेर राति ८ बजे बिश्राम लिन्छ । हरेक दिन बेलुका ईटाको चाङ लगाउने र भोलिका लागि माटो तयार गरेपछि त्यो दिनको दिनचर्या सकिने उहाँहरुको भनाइ छ ।

उहाँहरु भन्नुहुन्छ, “यस वर्ष दसैंको घटस्थापनाको दिन म्याग्दीको रत्नेचौर आएका हौं । जवाहर र ईश्वर मुखियाका दुई छोरा दुई छोरी एवम् गोपीचनका दुई छोरा र श्रीमती घरमा हुनुहुन्छ । अब फागुनसम्म ईटा बनाउने काम गरेपछि होली मनाउन घर जान्छौं ।” काम गर्न बिदेश जानुभन्दा यही पनि काम गर्न सकिन्छ भनेर यता काम गर्न आएको उहाँले सुनाउनुभयो । 

असोजमा आएर फागुनसम्म ईटा बनाएर होली मनाउन घर फिर्नेगरेको उहाँको भनाइ छ । बिहानै उठ्यो अनि ईटा बनायो, माटो तयार गर्ने अनि सुकेका ईटालाई चाङ लगाएर नयाँ आलो ईटा सुकाउने ठाउँ बनाउँदैमा दिन बित्छ जवाहरले भन्नुभयो । 

विहान उठेपछि संगैभएको छाप्रोमा खाना बसालेर खाना हेर्दै काम गर्दै गर्ने अनि १० बजे बिहान खाना खाने घरतिर फोन गर्ने गर्छौं । हरेक दिन बिहान १० बजे घरमा फोन गर्ने र खाना खानका लागि तोकिएको समय हो । १२ वर्ष देखि लगातार आउने गरेका जवाहरले गाउँका अरु साथीलाई पनि ल्याउने गरेको सुनाउनुभयो । यस वर्ष गोपीचन पुरानै भए पनि ईश्वर नयाँ आएको हो, गत वर्ष आएका अरु दुई जना यस वर्ष आएनन् जवाहरले भन्नुभयो । 

एकिन्द्र महतको ईटा उद्योगमा काम गर्नेले एउटा इटा तयार पारेको साढे दुई रुपियाँ पाउने गर्छन् । माटो खनेर भिजाउने अनि ईटाको आकार दिएर सुकेपछि प्रतिईटा सो मुल्य पाउँछन् । तीन जनाले मेहनत गर्दा एक दिनमा दुई हजार ईटा तयार हुने गोपीचन मुखियाको भनाइ छ । दिनमा पाँच हजार रुपियाँको ईटा तयार हुने र त्यही पैसा तीन जनाले बाँड्ने उहाँले बताउनुभयो ।  

एक सिजन काम गरेर घर फर्कीदा झण्डै एक लाख ५० हजारदेखि दुई लाख रुपियाँ घर लैजाने बेनी नगरपालिका –१ का वडा अध्यक्ष टेकबहादुर थापा मगरले बताउनुभयो । पहिला रत्नेचौर क्षेत्रमा धेरै नै थिए इटा बनाउनेहरु अहिले कम भएका छन् । तीन जनाले दैनिक सरदर दुई हजारको दरले ईटा तयार गर्दा छ महिनासम्म ईटा तयार गर्ने र त्यहीबाटै खाने बस्नेलगायतको खर्च पनि व्यवस्थापन गर्दा झण्डै डेढदेखि दुई लाख रुपियाँ घर पठाउने उहाँको अनुभव छ ।