• १३ असोज २०८१, आइतबार

विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा

blog

काठमाडौँ, कात्तिक २८ गते । साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उहाँले गर्नुभएको योगदानका बारेमा चर्चा गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो । विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, प्रतिष्ठानका उपाध्यक्ष तथा कलाकार कान्छाकुमार (केके) कर्माचार्य, कलाकार मुकेश मल्ल तथा प्राज्ञ हेमराज पौडेल, विराट साहित्य सङ्गमका अध्यक्ष रामबाबु दाहाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्ष हेमराज पौडेल, महासचिव विजय चालिसेलगायत साहित्यकारले विकल साहित्यकारका साथै सफल कलाकारका रुपमा परिचय बनाउन सफल रहेको बताउनुभयो ।  

कार्यक्रममा कविहरू ओमप्रसाद कोइराला तथा मुकुन्द आचार्यले कविता वाचन गर्नुभएको थियो । सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म वि.सं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । वि.सं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उहाँ नेपाली आख्यान क्षेत्रमा प्रवेश गर्नुभएको हो । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गर्नुभएको हो । छोराहरु विजय चालिसे र महेन्द्र चालिसेको प्रस्तावमा पाँच आना जग्गामा बनेको पुरख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । वि.सं २०६५ पुस २ गते विकलको निधन भएको थियो । रासस