• ७ जेठ २०८१, सोमबार

भूकम्पपीडित शोक र पीडामा : तिहारको छैन रौनक

blog

जाजरकोट, कात्तिक २६ गते ।

गाउँभरी ढकमक्क सयपत्री मगमगाउँदो छ । मखमली फूलले दाजुभाइको प्रतीक्षा गरिरहेका छन् । तर तिहारको रौनक भूकम्प प्रभावितलाई पटक्कै छैन । 

अन्यत्र घर गाउँ लिप पोत गरेर सजिइसके । भिलिमिलि बत्तीले झकिझकाउ भइसके । सेलरोटीको बासनासँगै देउसीभैलोको झङ्कार गुन्जिन थालिसके । अन्य जिल्लामा दिदीबहिनीहरु आफ्ना दाजुभाइका लागि भाइमसला र कोशेलीपात किन्न व्यस्त छन् । तर जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितका गाउँमा तिहारको कुनै रमझम छाएको छैन । 

कसैका दाजु अनि कसैका दिदी–बहिनीलाई भूकम्पमा बितेपछि तिहार शून्य बनेको हो । गाउँको घर सबै भत्केर त्रिपालको बास छ । त्रिपाल छेउका फूलका बोट दिक्क मानेर काटेर फाल्दैछन् । अब कसरी नयाँ घर बनाउने, के खाने, के गर्ने कहाँ जाने भन्ने पिरलोले सताएको छ । 

कमला बिकले बारीका पाटाको सयपत्री निमोठ्दै भन्नुभयो, “यो फूलहरुको अब केही काम छैन, कसले मनाउने यो पीडामा तिहार ।” घर भत्केपछि सबैजना बारीका पाटामा त्रिपालमा बासिरहेका छन् । घर सबैका खण्डहर भए पनि परिवारका सदस्य भइदिएको भए दुःखसुख चाड मनाउँथे । तर दाजुभाइ दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाउन भूकम्प पीडितले नपाउने भएका छन् । 


भूकम्प अघिसम्म एउटा फूल कसैले चुँडीदिँदा दुःख लाग्थ्यो । कहिले त छिमेकीमा फूलकै कारण झगडा नै पथ्र्यो । तर अहिले तिनै फूलले दाजभाइ र दिदीबहिनी गुमाएकालाई दिनहुँ चिमोट्ने गर्छ । किन आयो तिहार यो वर्ष नआए पनि हुन्थ्यो भनेर कल्पिने गर्छन् । 

नलगाड १ चिउरीका तुलसी सुनारले भन्नुभयो, “मेरो त घर माइत सबै गयो, यो तिहारमात्र हैन सबै तिहार शून्य हुने भयो ।” भूकम्पले उहाँको दाजु, भाउजू र भदा तीनजनालाई एकै पटक निल्यो । घरमै पनि छोरा बुहारी र नातिलाई भूकम्पले चुँडेर लगेपछि उहाँ विछिप्त हुनुहुन्छ । तिहार नजिकिँदै गर्दा त्यो विक्षिप्तता झन् बढेको छ । तिहारको सयपत्री र मखमली फूल देख्दा उहाँको मन झन पीडाले कुँडिने गरेको छ । 

परिवार जोगिएकाहरुको पनि त्रिपालको बास छ । खान लाउनकै जोहो गर्न प्रभावितलाई हम्मे हम्मे छ । यस्तोमा तिहारको कुनै चाख र रहर नभएको सन्तोष विकले बताउनुभयो । पुष्पा विकको पनि भाउजू र भदा भदैको भूकम्प जाँदा एकै चिहान भयो । दाइ भारतमा काम गर्न गएका थिए र जोगिए । तर परिवार नै उजाड भएपछि तिहारको कुनै रङ्ग नभएको उहाँ बताउनुहुन्छ । नरेन्द्र बुढाले पनि आफ्नी बहिनी र आमालाई भूकम्पमा गुमाउनुभयो । उहाँले भन्नुभयो, “एउटै बहिनी थिई, सबै तिहार अब खल्लो हुने भएको छ ।”

छेपारेकी लाली बिक र उहाँको श्रीमानलाई उहाँको नन्दले भूकम्पमा बचाए । दाजु भाउजू बाँचेकाले यो साल नभए पनि अर्को साल टीका लगाउने उहाँ बताउनुहुन्छ । यो वर्ष सिङ्गो गाउँ नै शोक र पीडामा छ ।