कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार हिजोदेखि सुरु भएको छ । शरद्का रङ्गीचङ्गी फूलको सौन्दर्य र उज्यालोमा रम्दै दाजुभाइ दिदीबहिनीबिचको अगाध प्रेमशक्तिले जीवनरक्षा गर्न सकिने सन्देश दिने यो पर्वले मानव, प्राणी र वनस्पतिबिचको अन्तर सम्बन्ध वा अन्तरनिर्भरताको महत्वाबोधसमेत गराउँछ । सँगसँगै हिजो किराँत धर्मावलम्बीले धर्मगुरु फाल्गुनानन्द जयन्ती मनाए, नेवार समुदायले म्ह (आत्मा) पूजा भाइटीकाकै बेला मनाउँदै छन् । तिहारलगत्तै तराई मधेश मूलको नेपालीले छठ पर्व मनाउँदै छन् । नयाँ नेपाल संवत् सुरु हुँदै छ । पर्वहरूको एक साता मखमली, सयपत्री, गोदावरीका थुँगा र धानका बाला झैँ झुल्छन् नेपाली । बालबालिकादेखि वयष्कसमेत खैँजडी मादल मुजुरा रन्काउँदै देउसी भैलो खेलेर रातदिन सङ्गीतमय गाउँ बनाउने प्रचलन हो । सारा नेपालीको यो उमङ्ग र उल्लास यस पटक चाहिँ सङ्कुचित भएको छ । भूकम्पका कारण पश्चिम पहाडी भूभागमा भएको क्षतिले नेपालीमन छियाछिया भएको छ । अन्य क्षेत्रका बासिन्दाले पनि हात फुकाएर खर्च गर्न हच्किनुपर्ने आर्थिक अवस्था छ ।
यमपञ्चकको आज लक्ष्मी पूजा । लक्ष्मी धनधान्य र ऐश्वर्यकी प्रतीक देवी मानेर धनधान्यका निम्ति घरमा आमन्त्रण गरी साँझ पूजा गर्ने, मिष्ठान्न पकाउने दिन । नयाँ धान भित्रिएको बेला अन्नको अभाव नहुने अनि सेलरोटी, अनरसा, झिलिङ्गा आदि आफैँले बनाएर पर्वमा खाने पुख्र्यौली परम्परा हो तर समयव्रmममा यो कृषि परम्परामा आधारित पर्वमा पनि पुँजीवाद विस्तार भइरहेको छ । व्यापारिक लाभका लागि अनेकथरी रङ्ग रसायन मिसाइएका मिठाई बजारमा खात छन्, तिनै उपभोग गरिन्छ, स्वाथ्य तिर ध्यान कम छ । गाईको गोबर, रातो माटो र दुबोले लक्ष्मी पूजास्थल लिप्ने परम्परा सिसा मिश्रित अनेकथरी रङ्गको ‘रङ्गोली’बाट अतिव्रmमित भइरहेको छ । फूलका माला, माटोको पालामा तेलको दियोले उज्यालो र रङ्गिन बनाइने घर पसल आयातित प्लास्टिकजन्य वा कपडाका माला अनि विद्युतीय तारले ढाकेर झिलिमिली पार्ने गरिएको छ । पछिल्लो समय तिहार उज्यालो बनाउन विद्युत् त स्वदेशी नै उत्पादन छ तर विद्युतीय तार, चिम आदि खरिद गर्न ठुलो राशि बिदेसिने गरेको छ । अर्थात् लक्ष्मीको बासका लागि निम्ता गर्ने तर व्यवहार चाहिँ लक्ष्मीलाई बाहिर पठाउने विडम्बना छ ।
चाडपर्वका बेला ठुलो खर्च हुन्छ भनेर आफ्नो मौलिक संस्कार संस्कृति मान्न कञ्जुस्याइँ गर्न हुँदैन । यस्तै संस्कार संस्कृतिका अमूर्त सम्पदा राष्ट्रिय पहिचानका स्रोत हुन् । यिनले समाज, समुदाय जोड्छन् । यिनैका सन्दर्भमा ठुलो आर्थिक कारोबार हुन्छ । हो, यही अवसरलाई सदुपयोग गरी लाभ लिन सक्नु पर्छ । अब हामीले चाडपर्वलक्षित बजारको माग विश्लेषण गरी स्वदेशी उत्पादन वृद्धि र स्वदेशी वस्तुको प्रयोग गर्ने बानी विकास गर्ने हो भने मुलुकमा लक्ष्मीको बास अर्थात् समृद्धि हुने छ । आयातित वस्तुमा लक्ष्मी फालेर फुरुङ्ग हुने प्रवृत्तिमा विस्तारै बिराम लगाऔँ ।
तिहारका अवसरमा राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बालेर दीपावली गरिरहेको देख्दा मन आनन्दित हुन्छ तर विकृतिका रूपमा फैलिएको पटाका पट्काउने आयातित चलनले गर्दा दुर्घटनासमेत हुने गरेको छ । यस्तो पटाकाको विकृति छाडेर सभ्य ढङ्गले बरु मादल मुजुरा घन्काउने देउसी भैलो संस्कृति विस्तार गरिनु राम्रो हुन्छ । शान्ति सुरक्षाको नाममा देउसी भैलोको समय खुम्चाउनु सुरक्षा व्यवस्थाको जिम्मेवारी र दायित्वबाट पन्छिनु हो । आफू चाडपर्वको उमङ्गमा रहँदा खुला आकाशमुनि एकसरो लुगामा आफन्तको वियोग खपिरहेका भूकम्प पीडितहरूलाई राहत पु¥याउने मानवीय दायित्व पनि स्मरण गराैँ ।
आत्मशुद्धीका अनेक पूजा गर्छौं । छठमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गर्छौं । काग, कुकुर, गोरु पूजा गर्छौं । यी सब प्रकृतिको सम्मानका लागि हो । अर्थात् हामी प्रकृतिप्रेमी हाैँ । हाम्रा पुर्खाले नै जैविक विविधता अनि प्राणी, वनस्पति र वातावरणीय सम्बन्ध, सजीव र निर्जीवको अन्तरनिर्भरताको महìवबोध गरिसकेका थिए । विश्वसमुदाय आर्थिक लाभका लागि आँखा चिम्लेर वातावरणीय परिस्थितिकीमा खलबल पु¥याएर अनेक प्राणीलाई लोप वा लोपोन्मुख बनाउन उद्यत रहेका छन् र सचेतहरू वातावरण संरक्षणका व्याख्यानहरू पस्कँदै छन् तर हाम्रो त संस्कार संस्कृति नै प्राणी, प्रकृति पूजक छ । नेपाली विश्वका जुन कुनामा छन्, तिनले आफ्नो पर्व संस्कृति मनाउँदा अवश्य जैविक विविधता संरक्षणको सन्देश पनि फैलिने छ । समग्र सबैमा आउने पावन पर्वले मुहारमा उज्यालो छाओस्, हार्दिक शुभकामना ।