काठमाडौँ, कात्तिक २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पश्चिम पुग्नुभएका राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
“ प्राकृतिक विपदमा कहाँ कहाँ के भएको छ भनेर बुझन हामी आएका हौँ, यो विपत्तिको हामी सबै मिलेर सामना गरौँ, चिन्ता नगर्नुहोला, सरकार, राज्य र सिङ्गो देश नै तपाईँहरूको साथमा छ”, पौडेलले भन्नुभयो, “ तर, सही तथ्याङ्क राख्नुस्, वास्तविक पीडितले नपाउने अर्कैले पाउने अवस्था आउन भएन ।”
उहाँले लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी भएकाले पूर्ण रूपमा विपद् सामनामा साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो,“ दुःखमा दुःख बिसाउन हामी आएका छौँ, राष्ट्रिय अन्तर्राष्ट्रिय सबै क्षेत्रको ध्यान यही छ, सरकार छ, राज्य छ, यसको हामी सबै मिलेर सामना गर्नुपर्छ ।”
रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाका १६ हजार घरमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै पराकम्पनहरु आइरहेकाले यो बढ्न सक्ने बताउनुभयो ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट पुग्नुभएको थियो ।
उहाँले जाजरकोट सदरमुकाम खलङ्गाको जिल्ला अस्पतालमा घाइतेहरूलाई भेट्नुभयो भने त्यहाँको भूकम्पले क्षतिग्रस्त क्षेत्र तथा पीडितहरूसँग कुराकानी गर्नुभयो । त्यसपछि उहाँ भूकम्पको केन्द्र बनेको जाजरकोटको रामीडाँडा पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जानुभएको हो ।
राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जा मन्त्री शक्ति बस्नेत, प्रदेश सांसद र नेपाली सेनाका प्रधानसेनापतिलगायत सहभागी हुनुहुन्छ ।