केही दिनअघि जाजरकोट र रुकुमका नागरिकको मस्त निद्रामाथि अचानक हमला भयो । यो हमला कुनै शत्रु पक्षले गरेको थिएन । हरेक प्राणीको जीवन रक्षा गर्ने प्रकृति आफैँले त्यहाँका नागरिकमाथि धावा बोलेको थियो । कतिपय प्राकृतिक प्रकोप मानिस आफ्ना कर्मले निम्त्याउँछ तर यस पटक यहाँ नागरिकको कुनै दोष थिएन । भूकम्पलाई नागरिकले प्रतिरोध वा प्रतिरक्षा गर्ने तागत आजसम्मको विज्ञानले पत्ता लगाउन सकेको छैन । त्यसकारण आफ्नो गल्तीबिनाको सजाय यस पटक यस भेकका नागरिकले बेहोरे । सानातिना भूकम्पलाई पचाएको अनुभूति गर्न थालेका नेपाली नागरिकलाई २०७२ सालको सम्झना दिलाउने गरी यस पटकको आक्रमण रुकुम र जाजरकोटमा भयो । यो घटनासँगै फेरि एक पटक भूगर्भविद्हरूका अनुमान छरपस्ट हुन सुरु भएका छन् ।
कुनै पनि प्राकृतिक प्रकोप भएपछि नागरिकले त्यहाँ सरकारको उपस्थिति खोज्छ । यो अभाव हुन नदिन यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । अरू बेलामा अरू सरकार प्रमुख वा सरकारमा रहनेले दिने जस्तै उद्धार र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन उहाँले पनि दिनुभएको छ । प्रधानमन्त्री प्रचण्ड सवार सेनाको हेलिकप्टरले घाइतेहरूको उद्धारको काम पनि ग¥यो । प्रधानमन्त्री आफैँ घटनास्थलमा पीडित र अस्पतालमा रहेका घाइतेलाई भेट्न जाँदै गर्दा उनीहरूको मनमा मलहमपट्टि लगाउने काम भएको छ । भोलिका दिनमा राहत र पुनस्र्थापनामा सरकारले सबैका लागि समान नीति र व्यवहार देखाउन सक्यो भने प्रधानमन्त्रीको यो भ्रमणले ठुलो अर्थ राख्ने छ ।
घटनास्थलमा प्रत्यक्ष अवलोकन गर्नेहरू भन्छन्– त्यहाँका संरचना र त्यसमा भएको क्षति हेर्दा अहिले भएको मानवीय क्षति निकै कम हो । मध्यरात सबै निदाएको समयमा गएको यो भूकम्पले सबै मानिस सोत्तर पार्न पनि सक्थ्यो तर समयमा घरदैलोको सरकारले उद्धारमा देखाएको तदारुकता सम्भवतः मानवीय क्षति कम गर्न सहयोगी बन्यो । अघिल्लो वर्ष मात्र निर्वाचित भएको स्थानीय सरकार पीडितहरूको घरआँगनमै थियो । उद्धार राहतमा खटेको स्थानीय सरकार देखेपछि पीडित र उनका आफन्तले सायद पहिलो पटक सिंहदरबार गाउँगाउँमा आइपुगेको अनुभूति गर्न पाए । तत्काल सेवा र सुविधाको सिंहदरबारको अनुभव गरेका त्यहाँका नागरिकले अब नीतिको सिंहदरबार पाउनका लागि पनि यो दुर्घटनाले पाठ पढाएको छ । भौतिक संरचना निर्माणका नीतिहरू बनाउन पक्कै पनि भोलिका दिनमा स्थानीय सरकारको क्रियाशीलता बढ्ने छ ।
आधारभूत सेवाको उपलब्धता रात, बिहान, साँझ कहिल्यै पनि टुट्नु हुँदैन भन्ने पाठ यस क्षेत्रका नागरिकले भोग्दै आएका समस्याले सिकाएको छ । राति भूकम्प गएको क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध भएको थियो । इन्टरनेट थिएन । मोबाइलको नेटवर्कमा समस्या थियो । जाजरकोटको सामाजिक विकास कार्यालयका प्रमुख यज्ञराज खत्रीले त्यसबेलाको अवस्था चित्रण गर्दै भन्नुभएको छ, “विद्युत् छैन, फोन लाग्दैन, नेट चल्दैन । त्यस्तो बेलामा गाउँ तहसनहस हुने गरी भूकम्प आउँदा कस्तो अवस्था थियो होला ? तपाईं कल्पना गर्नुस् । यस्तो अवस्थामा पनि स्थानीय सरकारले आफ्नो भूमिका देखायो । सबैलाई जागरुक गराएर आफैँ खटिँदा धेरै थप क्षति रोक्यौँ ।”
पश्चिम नेपालमा कुनै पनि बेला ठुलो भूकम्प जान सक्छ भनेर पूर्वानुमान छँदै थियो । यो अनुमानका वैज्ञानिक आधार देखाउनेहरूको कमी थिएन तर व्यावहारिक अनुमानमा पनि २०४५ सालको भूकम्प उदयपुर केन्द्र भएर गएको थियो । यसले धरान र भक्तपुरमा धेरै क्षति पु¥याएको थियो । २०७२ को भूकम्पको केन्द्र पश्चिम सरेर गोरखा पुगेको थियो । अबका दिनको भूकम्प पश्चिमतिर सर्ला भन्ने अनुमान गर्न घटनाक्रमले नै आधार बनाइदिएका थिए । नभन्दै बाजुरा र बझाङमा भूकम्प गए, गइरहे । मध्यपश्चिमका नागरिकलाई भूकम्पबाट उन्मुक्ति पाइएको अनुभवमा रमाउने धेरै दिन रहेन । २०८० कात्तिक १८ को रात जीवनभरिको सम्झना गराएर फर्केको छ ।
खासमा भूकम्पले मानिसलाई केही गरेकै होइन । उसले त्यो जमिनमा कम्प ल्याइदिएको मात्र हो । आममानिसले ज्यान गुमाउने अवस्था चाहिँ उनीहरूले नै सुरक्षित हुने ठानेर बनाएका संरचनाले नै सिर्जना गरेको हो । जीवन गुजाराका लागि बनाएका कमजोर घर मात्रले उनीहरूको जीवन समाप्त गरेन, ठुला तर कमजोर जगमा बने, बनाइएका घरले पनि उनीहरूलाई बचाउन सकेन । यी संरचना बन्दै गर्दा यसको अनुमति र अनुगमन गर्ने निकाय भनेको सरकार नै हो । अझ नागरिक आवासको सन्दर्भमा त स्थानीय सरकार नै हो । अहिले उद्धार र राहतमा उसले देखाएका गतिविधिको जतिसुकै प्रशंसा गरिरहँदा पनि स्थानीय सरकारलाई भन्नैपर्ने कुरा चाहिँ आवास भनेको टाउको लुकाउने ठाउँ मात्र होइन, टाउको जोगाउने पनि हुनु पर्छ ।
समयमै भौतिक संरचना बलियो बनाउने सन्दर्भमा सङ्घ, प्रदेश, स्थानीय सरकारहरू चुकेका छन् । उनीहरूको काम गर्ने शैली कामचलाउ मात्र छ । विज्ञहरू भन्छन्– यदि संरचना निर्माण गर्दै गर्दा आधारभूत सामग्रीमा कम्प्रमाइज नगर्ने र गर्न नदिने हो भने पाँच, छ, सात रेक्टर स्केलको भुइँचालोलाई मज्जाले थेग्न सकिन्छ । नेपालमा अहिले जम्मा ८० लाख घर छन् । २०७२ सालको भूकम्पपछि लगभग १० लाख भूकम्प प्रतिरोधी घर बनेका छन् । भूकम्प गएपछि मात्र प्रतिरोधी क्षमताका घर बनाउने होइन, पुराना घरका संरचनालाई बलियो बनाउने योजना राज्यसँग हुनु पर्छ । यसलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउने हो भने सम्भवतः सानातिना भूकम्पमा परेर नेपालीले भौतिक र मानवीय दुवै क्षति बेहोर्नुपर्ने छैन ।
२०७२ सालमा आएको शक्तिशाली भूकम्पमा परेर नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाए । यसरी ज्यान गुमाउनेमा गोरखा र काठमाडाँै उपत्यकाका बढी मानिस थिए । अहिले जाजरकोट र रुकुमका १५० जनाभन्दा बढीले ज्यान गुमाउनु प¥यो । संरचनागत सुधारलाई केवल भूकम्पका समयमा मात्र ध्यान दिने हो भने अर्को कुनै दिन आउने भूकम्पले फेरि कतिको विनाश गर्ने हो ? यो अनुमान गर्न सकिँदैन । नेपाल त्यसै पनि विश्वका बढी भूकम्प जाने १० मुलुकमध्येमा पर्छ । यो भनेको हामी भूकम्प कुरेर बस्ने होइन, त्यसबाट विनाश कम गर्ने अभियानमा लाग्ने समय हो ।
नेपालमा विसं १२५५ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पमा परी नेपालका तत्कालीन राजाको समेत मृत्यु भएको थियो । काठमाडौँको एक तिहाइ नागरिक त्यस दुर्घटनामा परेर मरेका थिए । विसं १५०५ मा मुस्ताङमा गएको भूकम्प नेपालको सबैभन्दा ठुलो थियो । ८.८ रेक्टर स्केलको त्यो भूकम्पमा परी नेपालको ३० प्रतिशत जनसङ्ख्या मारिएका थिए । त्यसपछि विसं १६८१ मा कोशी क्षेत्रमा भएको भूकम्पमा परी त्यसबेलाको चार हजार पाँच सय मानिसको ज्यान गुमेको थियो । विसं १९९० को भूकम्पको चर्चा २०७२ को समयमा निकै भयो । अहिले पनि यो घटना भोग्ने केही नागरिक जीवित छन् । हिजोका दिनमा लामो समयको अन्तरालमा भूकम्प जाने गरेको भए पनि पछिल्लो समय भूकम्प जाने अवधि निकट र थप अनिश्चित बनेको छ ।
भूकम्प नेपालमा मात्र आउने होइन । भूकम्पको बढी सम्भावना रहेका मुलुकहरू एसियामा नै धेरै छन् । टर्कीमा नेपालमा जस्तै पुराना संरचना छन् । त्यसैले त्यहाँ सानातिना भूकम्पले पनि धेरै क्षति पु¥याउँदै आएको छ । पाकिस्तान घना बस्तीका कारण उच्च जोखिममा रहेको मानिन्छ । इरान पनि टर्की जत्तिकै भूकम्प जाने देशमा पर्छ । चीनमा थुप्रै टेक्टोनिक प्लेट भएकाले ठुला भूकम्प जाने खतरा सधैँ रहन्छ । अहिलेसम्म विश्वकै तेस्रो विध्वंस चीनले बेहोरिसकेको छ । जापान सबैभन्दा बढी भूकम्प भइरहने मुलुक हो । फिलिपिन्समा २०२३ मा मात्रै पाँच रेक्टर स्केलभन्दा माथिका १० भन्दा बढी भूकम्प गइसके । इन्डोनसिया पटक पटक भूकम्प गइरहने मुलुकमा पर्छ ।
इक्वेडोरमा वर्षमा सरदर ७० वटा भूकम्प जाने गर्छ । चिली पनि चीन जस्तै टेक्टोनिक प्लेट रहेको मुलुक मानिन्छ र यो देशमा सन् १९६० मा विश्वकै सबैभन्दा ठुलो ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । यी मुलुकमा भूकम्प जाँदा हिजोको जस्तो खतरा यसकारण छैन कि उनीहरूले त्यही अनुरूपमा भौतिक संरचनाहरू बनाए र बनाइरहेका छन् । हामी नेपाली कुनै खतरनाक घटनापछि केही समयका लागि पाठ सिक्छौँ तर छिटै बिर्सन्छौँ । जाजरकोट र रुकुमको नियति अब अरू भेकका नागरिकले बेहोर्नु नपरोस् भन्ने चासोले नै हामीलाई यस्तो प्राकृतिक विपत्बाट जोगाउने छ । जीवन गुमाएका ती नागरिकप्रति श्रद्धाञ्जली दिँदै गर्दा भोलिका दिनमा अरूलाई जोगाउने प्रतिबद्धताको खाँचो छ ।