• २२ असार २०८१, शनिबार

वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २० गते । वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो । 

मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताउनुभयो । दिल्लीमा समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आइतवार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रलाई धुवाँले ढाकेको छ । 

धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् । नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनामा दिल्लीमा वायु प्रदूषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेषगरी पञ्जाब र हरियाणाका किसानले पराल जलाउनुलाई प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ । अन्य कारणमा सवारी प्रदूषण समावेश छ । एजेन्सी