काठमाडौँ, कात्तिक १८ गते । चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा खबर गर्न सकिने भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले चिनीको कृत्रिम अभाव सिर्जना गर्नेबारे हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) वा नेपाल प्रहरीको सामाजिक सञ्जालमा खबर गर्न आग्रह गर्नुभएको हो । उहाँले चाडपर्वको अवसरमा चिनीको कृत्रिम अभाव हुन नदिई आमउपभोक्तासम्म सहज बनाउन प्रहरीले सबै उपाय अपनाउने स्पष्ट पार्नुभयो । चिनीको कृत्रिम अभाव सिर्जना हुन नदिन नेपाल प्रहरीको एकाइ परिचालन गरिएको बताउँदै उहाँले दसैँयता मुलुकको विभिन्न स्थानमा लुकाइएका र गैरकानुनी रूपमा ल्याइएका चिनी बरामद गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सरोकारवालाको बैठकले समेत प्रहरी प्रशासन परिचालन गरेर बजारमा चिनीको अपूर्ति सहज बनाउने निर्णय गरेको थियो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थप्रसाद चिलवालले बजारमा चिनी पर्याप्त हुँदासमेत महँगोमा बिक्री गरेको पाइए अनुगमन गरेर कारबाही गरिने जानकारी दिनुभयो । अबको दुई/तीन दिनभित्र उपत्यकमा तीन हजार मेट्रिक टन चिनी भित्रिने भएकाले अब महँगो गर्नेलाई कारबाही हुने उहाँको भनाइ छ ।