काठमाडौँ, कात्तिक १८ गते । सिंहदरबार परिसरभित्र तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउन रोक लगाइएको छ । केही समययता सिंहदरबार परिसरमा रहेका अति विशिष्टको कार्यालय अगाडि तस्बिर, भिडियो खिच्ने तथा टिकटक बनाउने क्रम बढ्दै गएकाले सो कार्यलाई निषेध गरिएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै बिनाअनुमति सिंहदरबार परिसरभित्र तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्य नगर्न/गराउन सिंहदरबार परिसरभित्र विभिन्न ठाउँमा सूचनासमेत टाँस गरिएको छ तर समाचार सम्प्रेषण गर्ने प्रयोजनका लागि सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई तस्बिर र भिडियो खिच्न रोक लगाइएको छैन ।