• २० असोज २०८१, आइतबार

आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै मौलाकालिका

blog

गैंडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा दर्शन गर्न आएका भक्तजन । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक १६ गते । पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकालिका धार्मिक पर्यटकका लागि एक उत्कृष्ट गन्तव्य बन्दैगएको छ । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागि समेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य बनेको छ ।

नवलपुर जिल्लाकै महत्व बोकेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगरेको छ । अध्यात्म र आस्थाको केन्द्रका रुपमा मानिने मौलाकालिका मन्दिरलाई डाँडाकालिका मन्दिर समेत भनेर चिनिने गरिएको छ । परापूर्वकालदेखि निकै प्रसिद्ध रहेको उक्त मन्दिरमा पछिल्लो समय केवलकार सञ्चालनमा आएपछि दर्शन गर्ने भक्तजनको घुँइचो बढ्न थालेको हो ।

स्थानीय डिलाकुमारी पराजुली केवलकार चढेर मन्दिर जान पाउँदा खुशी लागेको बताउनुभयो । खुसी हुदै अधिकारीले भन्नुभयो, “उमेरले ९० पुगेँ । यो उमेरमा सिढि चढेर मौलाकालिका जान गाह्रो हुन्थ्यो । तर केवलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा निकै खुसी छु ।” उहाँले ८० वर्ष माथिका बुढाबुढीलाई छुट रहेको भन्दै छुट पाएर केवकार चढेको बताउनुभयो । 

यसबर्ष केबलकार सञ्चालनले गर्दा पनि मन्दिरमा भक्तजनको उल्लेखनीय उपस्थिति रहेको पाइएको छ । घटस्थापनादेखि दसैंको पूर्णिमासम्ममा ३८ हजारभन्दा बढी भक्तजनहरुले केवलकारमार्फत मौलाकालिका मन्दिरको दर्शन गरेको मौलाकालिका केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताउनुभयो । करिब एक हजार आठ सय ८२ खुड्किला हिँडेर पुग्नुपर्ने मौलाकालिका मन्दिरमा अहिले केबलकार सञ्चालन भएसँगै दर्शनार्थीलाई सहज भएको छ ।  

 मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीयहरु हर्षित भएका छन् । केबलकार सञ्चालनका कारण बालबालिका, बृद्धबृद्धादेखि अपाङ्गता भएकालाई समेत सहज भएको प्रतिक्रिया पाइएको पौडेलको भनाइ छ । केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि भएका छन् । 

३० प्रतिशत बढी भक्तजन

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटा केबलकार सञ्चालनमा आएसँगै अहिले हिँडेरै जानुपर्ने अवस्था नरहेको र यसका कारण भक्तजनको संख्या बढेको बताउनुभयो । केबलकार सञ्चालनमा आएपछि यहाँ ३० प्रतिशतभन्दा बढी भक्तजन थपिएको र यो सङ्ख्या बढ्दै जाने देखिएको उहाँले बताउनुभयो । 

पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उहाँको भनाइ छ । पूर्व पश्चिम राजमार्गको नारायणी–पुलदेखि उत्तरतर्फ करिब ४ किलोमिटर टाढा समुद्र सतहको ५ सय ६१ मिटरको उचाइमा रहेको मौलाकालिका भगवतीको मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । 

जसअनुसार नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन् । करिब पाँचसय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकडीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किम्वदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।