• १० पुस २०८१, बुधबार

राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित बनाउन गम्भीर हुनुपर्छः सभामुख घिमिरे

blog

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।

काठमाडौं, कात्तिक १६ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठक समापन गर्नुअघि बोल्नुहुँदै सभामुख घिमिरेले संसदलाई लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गराउनुपर्ने बताउनु भयो । उहाँले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले विगतको अनुभवहरुबाट आगामी दिनका संसदीय गतिविधिहरुलाई प्रभावकारी बनाउँदै लानुपर्ने बताउनुभयो । उहाँले चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएको  पनि बताउनु भयो ।

‘‘माननीय सदस्यहरु, प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुँदै गर्दा माननीय सदस्यहरुले आज राख्नुभएका समिक्षात्मक अभिव्यक्तिप्रति मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ । हामीले चालु अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरु प्रभावकारी बनाउँदै लैजानुपर्दछ । संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरुको हो । चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका छन् । समितिहरुले सक्रियतापूर्वक काम सुरु गरेका छन् ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘प्रधानमन्त्री तथा मन्त्रीहरुसँगको प्रश्नोत्तरलाई नियमित र व्यवस्थित गर्ने अभ्यास सुरु गरिएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसदलाई आगामी दिनमा लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गर्न, राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन हामी सबै गम्भिर हुनैपर्ने कुरा राख्न चाहन्छु ।’’

सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ ।