• १० पुस २०८१, बुधबार

राष्ट्रियसभा : विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवकोे चर्चा

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गर्नुभएको छ ।

बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले सङ्घीयतालाई बलियो बनाउन थाती रहेको कानून चाँडो निर्माण गर्न तथा राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले विपीन जोशी हामासको नियन्त्रणमा रहेको पुष्टि भएको भन्दै जोशीको रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमण उपलब्धिमूलक भएको र शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयमा उठाएको विषय अन्तर्राष्ट्रियस्तरमा नेपालले चर्चा पाएको बताउनुभयो । नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले इजरायलमा हमासद्वारा मारिएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बन्धक बनाइएको भनिएका विपीन जोशीको खोजी र उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गुगुको छायाँनाथ गाउँपालिकामा हालै अज्ञात व्यक्तिबाट भएको सामूहिक हत्याका घटनाको दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद दाहालले राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले इजरायलमा हमासको नजरबन्दमा रहेका भनिएका विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले सङ्घीयतालाई बलियो बनाउन बाँकी रहेका कानून चाँडो बन्नुपर्नेमा जोड दिनुभयो । सभालाई प्रभावकारी बनाउन नसकिएको र महत्वपूर्ण विधेयक आउन नसकेको उहाँको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले सभाबाट महत्वपूर्ण विधेयक पारित भएको भन्दै आगामी दिनमा पनि सभाको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । 

उहाँले मुलुकभित्र अहिले पनि विभिन्न किसिमका समस्या व्याप्त रहेको, भ्रष्टाचार, महँगी र कालोबजारी बढिरहेको भन्दै यसको नियन्त्रण र प्रभावकारी अनुगमन गर्न ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मृगेन्द्र कुमारसिंह यादवले इजरायलमा हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई कूटनीतिक पहलको प्रयास गरी सकुशल नेपाल ल्याउने पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नजिकिएको तिहारमा चिनीलगायतका खाद्य पदार्थको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउने महत्वपूर्ण विधेयकहरु ल्याउन माग पनि गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले विपीन जोशीको उद्धारका लागि पहल गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले विगतमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल नामकरण भएको अहिले सप्तरी जिल्ला अस्पतालका रुपमा सञ्चालन रहेको भन्दै त्यसलाई पुरानै नाममा अञ्चलस्तरीय अस्पताल कायम गर्न माग गर्नुभयो । 

त्यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावकारीरुपमा सञ्चालन गर्न, चन्द्रनहरको पुनः निर्माणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस