• १० पुस २०८१, बुधबार

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक : सांसद पुन

blog

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन ।

काठमाडौं, कात्तिक १६ गते । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुङ्ग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद पुनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको जानकारी दिनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू पीडितमैत्री बनाइ टुङ्ग्याउनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढे पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

‘‘शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ । त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छौँ । यद्यपि विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ । सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ । पीडितमैत्री बनाउनुपर्छ । भन्ने सबैलाई थाहा छ ।,’’ सांसद पुनले भन्नुभयो, ‘‘द्वन्द्वरत पार्टीहरू सबै बसेका छौँ, सबैसँगै चुनाव लडेका छौँ । पार्टी एकता पनि गरेका छौँ । तर पीडितहरू आज पनि प्रश्न छ ? सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ ? यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ । हिजोसम्म नेताहरूबिचमा भएका छलफलले सकारात्मक सन्देश गरेको छ । हामी मिलेर जानेमा नै छौँ । सबै मिलेर जाने सहमति गर्नुपर्छ । सत्ता पक्ष र सरकारले त्यसमा प्रयत्न गर्नुपर्छ ।’’ उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।