• ३१ वैशाख २०८३, बिहिबार

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा

blog

मन्थली,  कात्तिक १६ गते ।  कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने  बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरुको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरु चिन्तित बनेका छन् । 

युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको  जोगीहरुको भनाइ छ । आफूहरु बुढो हुँदै जानु र युवा पुस्ता (छोरा,नाति) मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताउनुभयो । 

उहाले भन्नुभयो– “स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सीपअनुसारको बाजागाजा, आरन, वाद्यवादन सामग्री बाँडिरहेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुँदैन अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु ? स्थानीय सरकारले हामीलाई पनि राति घर–घर गई फेरी लगाउनका लागि आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराँठको सिङ) उपलब्ध गराउन सके आमी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौँ ।” 

परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताउनुभयो । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने  उहाँको भनाइ थियो । 

रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भन्नुभयो, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र  हामीले पनि गरिरहेका छाैं तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ नत अरुबाट हामीलाई सहयोग नै छ । फेरी लगाएको दिन बिहानभरि घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।” तर हाम्रो शेषपछि भने हामीले लगाउने गरेको फेरी लोप होला जस्तो छ । 

कात्तिक र चैत महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराँठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्दछन् । 

विशेषगरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउँदा, घरमा भूत, प्रेत पिशाच नलाग्ने र डाइनी बाेक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ । कसै कसैले राति  घर वा कोठाभित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन् । उनीहरु  रातभर  फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् । 

सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाउँ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् । 

जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिब एक सयको सङ्ख्यामा  उनीहरुको बसोवास छ  भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरुको बसोवास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउँदै आइरहेका छन् । रासस