काठमाडौँ, कात्तिक १६ गते । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै हुनुहुन्छ ।
मुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित अशोक शर्मा, ओमप्रकाश अग्रवाल, फिल्मका कलाकार विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देललगायतको उपस्थिति रहेको थियो । दिपेश खत्री (म्याक्स) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ । चलचित्रको लेखक निर्देशक भट्टराई स्वयं हो ।
विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, राजाराम पौडेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रको सुटिङ आजै बुढानीलकण्ठबाट सुरु भएको छ । छायाङ्कन अगाडि नै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्रको प्रदर्शन आगामी चैत ९ गते तोकिएको छ ।