• १३ साउन २०८१, आइतबार

दसैँ सकिएसँगै किसानलाई गहुँ छर्ने चटारो

blog

खेतबारीमा गहुँ लगाउँदै महिला । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, कात्तिक १५ गते । बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ । नेपालीको महान् चाड दसैँ सकिएसँगै बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको हो ।

कात्तिकको पहिलो हप्तादेखि बाजुरामा गहुँ लगाउने समय भएकाले बिहान दिउँसो खेतबारीमा नै व्यवस्था भएको खप्तड छेडेदह गाउँपालिका –५ का नरेश रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकदेखि मङ्सिरसम्म गहुँ लगाइ सक्नुपर्छ । त्यो बेला गहुँ लगाएन भने ढिलो हुन्छ । त्यसैले अहिले बिहान दिउँसो खेतबारीमा नै व्यस्त हुनुपरेको छ ।”

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, छेडेदह र त्रिवेणीलगायतका अधिकांश स्थानीय निकायमा कात्तिकको पहिलो सातादेखि मङ्सिरसम्म गहुँ छर्ने गर्दछन् ।

बाजुराका अधिकांश केही ठाउँमा सिँचाइ हुनेगरेको भए पनि अधिकांश ठाउँमा आकाशे पानीको भरमा गहुँखेती लगाउने गर्दछन् । जिल्लामा दश हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ मे.टन गहुँ उत्पादन हुन्छ ।

हिउँदे गहुँ हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ । पहिलेको तुलनामा उन्नत गहुँको बीउको प्रयोग बढ्दै गइरहेकाले गहुँको उत्पादन वृद्धि हुँदैगएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्र जमिनमा सिँचाइ हुनेगरेको छ । बाँकी ८० प्रतिशत जमिनमा आकाशे पानीको भरमा गहुँ खेती लगाउने गरेको कृषि ज्ञान केन्द्र बाजुरा सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लाको उत्पादन बढाइ खाद्य सुरक्षामा टेवा दिन सिँचाइको क्षेत्र बिस्तार गर्न आवश्यक छ ।” कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय उन्नत जातको गहुँको बीउ वितरण गर्दैआएकाले गहुँ उत्पादन बढ्दैगएको सूचना अधिकारी जैशीले बताउनुभयो ।