• १ जेठ २०८२, बिहिबार

खानेपानीको स्रोतको संरक्षण गर्नुपर्नेमा जोड

blog

अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागिहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १५ गते ।
 स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । कोहलपुरमा बुधबार भएको कोहलपुर नगरपालिका खानेपानी, सरसफाइ बोर्ड गठनसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले खानेपानीको उचित संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कोहलपुर नगरपालिकाको आयोजना तथा लुमन्तीको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्नुहुँदै कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले एकीकृत रूपमा बृहत् खानेपानी संस्थाको अवधारणका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरभित्रका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउन स्रोत व्यवस्थापन सबैभन्दा ठुलो चुनौती रहेको बताउनुभयो ।

कोहलपुर नगरपालिका-८ का वडाध्यक्ष लालबहादुर रानाले स्थानीय स्तरमा रहेका खानेपानीको स्रोतको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले डुडुवा, मानखोला, किरणनाला जस्ता पानीका मुहानहरूलाई संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउँदै दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्न यस्ता स्रोतहरू उपयोगी हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले बाँकेमा खानेपानीको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले भएका खानेपानीको स्रोतको पनि सही सदुपयोग हुन नसकेको प्रति दुःख व्यक्त गर्दै खेर गइरहेको पानीको व्यवस्थापनका लागि सबैले सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले बाँकेमा १५/२० वर्षदेखिका योजनाहरू अझै सम्पन्न हुन नसकेको अवस्थामा नयाँ योजनाहरू बनाउनुभन्दा एकीकृत रूपमा एउटै समिति बनाएर अघि बढ्न समेत सुझाव दिनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जनताका आधारभूत आवश्यकता पूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउन चुनौती रहेको बताउनुभयो । उहाँले नगरभित्रका सबै खानेपानी समितिलाई मर्ज गरेर एकीकृत रूपमै एउटै समिति बनाउन सके सेवा थप प्रभावकारी हुने बताउनुभयो ।

लुमन्तीका कार्यक्रम संयोजक सूर्यकुमार खड्काले कार्यपत्र पेस गर्नुभएको थियो । खड्काले कोहलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति सञ्चालनमा रहेको जानकारी दिँदै तीन वटा निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । चालु अवस्थामा रहेका चार वटा खानेपानी उपभोक्ता समितिबाट छ हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्‍याइएपनि अझै धेरै नागरिक दूषित पानी खान बाध्य रहेको खड्काले बताउनुभयो ।

कोहलपुर नगरपालिकाभित्र रहेका २४ हजार १८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने बताउँदै खड्काले पछिल्लो समय खानेपानी आयोजनामार्फत २५ प्रतिशत उपभोक्तालाई मात्र स्वच्छ खानेपानी पुर्‍याउन सकिएको बताउनुभयो । उहाँले अझै पनि ७५ प्रतिशत नागरिक ट्युबवेल तथा बोरिङको पानी खान बाध्य रहेको तथ्याङ्क भएको बताउनुभयो ।