• १२ साउन २०८१, शनिबार

महासचिव गुटेर्रेसको नेपाल भ्रमण

शान्ति प्रक्रिया टुङ्ग्याउन अन्तर्राष्ट्रिय दबाब बढ्ने अपेक्षा

blog

काठमाडौं, कात्तिक १४ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपालको औपचारिक भ्रमणबारे विभिन्न कोणबाट मुल्याङ्कन भइरहेको छ । गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रिया, जलवायु परिवर्तन एवम् यससँग सम्बन्धित समस्या, शान्ति सेनालगायतका विविध पक्षको आवाज विश्व समुदायमा उठाउन अवसरको रुपमा लिइएको विज्ञहरुले बताएका छन् ।  

पूर्व राजदूत एवम् कुटनीतिज्ञ डा. दिनेश भट्टराईले महासचिव गुटेरेसको नेपाल भ्रमणलाई अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । नेपालको वर्तमान परिस्थिति लगायत विश्वले भोग्नुपरेको चुनौती सम्बन्धमा सबैले एकै स्वरमा कुरा राख्न सकेको अवस्थामा आवाज थप बुलन्द हुने उहाँको भनाइ छ । 

भट्टराईले विकसित, औद्योगिक राष्ट्रले गरेको कार्बन उत्सर्जनबाट नेपालजस्तो मुलुकमा परेको असरको कुरा गुटेरेसले उठाइदिनुभयो भने विश्वभरी नै सन्देश जाने बताउनुभयो । यो भ्रमण नेपालका लागि एउटा अवसर भएको उहाँको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घको ७८ औं महासभालाई सम्बोधन गर्ने क्रममा सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्शमा पुगाउनुपर्ने कुरा राख्नुभएको भन्नुहुँदै उहाँले यसका लागि देशका सबै पार्टीहरु एकमतले प्रस्तुत हुनुपर्ने भए पनि यसो हुन नसकेको भनाइ राख्नुभयो । 

महासचिव गुटेरेसको नेपाल भ्रमणमा उठेका मुख्य विषयमध्ये सङ्क्रमणकालीन न्याय सम्बन्धमा उहाँले भन्नुभयो, “त्यो मिलाउने बाहिरकाले होइन, जे भयो गल्ती भयो भन्ने रियलाइज गर्ने, यसलाई मिलाएर शिक्षादिक्षा, लालनपालन राज्यले गर्दा हुने । आफैंले गर्नुपर्ने काम नगरेर बाहिरकालाई ल्याएर मात्र यो समस्याको समाधान हुँदैन ।” 

पूर्व राजदूत एवम् विश्लेषक प्रा.डा. लोकराज बरालले इजरायल, युक्रेन र रसियालगायतका देशमा लडाइ चलिरहेको भन्नुहुँदै संसारमा शान्ति कायम गर्ने मामिलामा संयुक्त राष्ट्रसङ्घ ज्यादै सीमित बन्दैगएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, विकासको काममा संयुक्त राष्ट्रसङ्घको भूमिका रहे पनि शान्ति कायम गर्ने मामिलामा असफलजस्तै बनेको उहाँको भनाइ छ ।

प्राडा. लोकराज बरालले संसारमा शान्ति कायम गर्ने भन्नेमा चाहिँ ठूला शक्ति राष्ट्रले नै यसलाई शक्तिहिन बनाएको बताउनुभयो । नेपालको आफ्नै मौलिक किसिमको शान्तिप्रक्रियाबाट विश्वका अन्य समुदायले पनि पाठ सिक्न सक्नुपर्ने भन्ने सवालमा उहाँले नेताहरुको अकर्मण्यताका कारण शान्ति प्रक्रिया टुङ्गोमा पुग्न धेरै ढिला भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो त्यतिबेला नै सक्नुपर्ने हो । नेपालबाट सिक्नुपर्ने त होनि दश वर्षसम्म लडाइ चलेको थियो । तर, कसैको सहयोग नलिइकन हामी आफैंले राम्रो बाटोमा ल्यायौं । कति पटक सरकार बदलिसके, बाँकी भएको काम अड्काउने, राजनीति गर्ने काम भइरहेको छ ।”

पूर्व राजदूत एवम् कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमण शान्ति सेना, सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुगाउने  लगायतका विभिन्न दृष्टिकोणबाट महत्वपूर्ण रहेको बताउनुभयो । 

श्रेष्ठले भन्नुभयो, “धेरै महत्वपूर्ण विषय छ । सङ्क्रमणकालीन न्याय दिनुपर्ने, त्यो अनावश्यक रुपले लम्बियो, ढिला भयो । शान्ति प्रक्रिया पूरा होस् भन्ने संयुक्त राष्ट्र सङ्घको चाहना छ । यो छिटो पूरा गर्न अन्तर्राष्ट्रिय चासो, दबाब सिर्जना भएको छ ।” यस विषयमा देशमा प्रमुख दल र नेताको धारणा फरक हुँदा यसले असर पार्न सक्ने उहाँको भनाइ छ । 

लामो समय शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्नुका पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्गियो भने शान्ति र  स्थीर भयो भने नेपाललाई खेलाउन पाउँदैन । अनमिन पनि खेदाउने, शान्ति प्रक्रिया पूरा नगर्ने, सूक्ष्म व्यवस्थापन गर्ने । त्यो चाहना राख्ने शक्तिहरु पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय दुवै कारणले लम्बियो ।” भूराजनीति महत्वको देश भएकाले नेपालको शान्ति प्रक्रिया छिटो टुङ्गोमा पुगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जलवायु परिवर्तन, हिमालयको समस्या संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायको पनि समस्या रहेकाले ग्लोबल वार्मिङका कारण जलवायु शरणार्थीको समस्या आइरहेको बताउनुभयो । यस विषयलाई संयुक्त राष्ट्रसङ्घले सम्बोधन गर्न यो भ्रमण सफल भएको उहाँको भनाइ छ । 

यसैगरी, डा. भट्टराईले संयुक्त राष्ट्र सङ्घका महासचिवको विगतको लुम्बिनी भ्रमणका बेला बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको विकासका लागि ‘इन्टरनेशनल कमिटी फर द डेभलपमेन्ट अफ लुम्बिनी (आइसीडिएल) गठन भए पनि यसमा उचित ध्यान पुग्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसलाई अगाडि बढाउन सक्यौं भने नेपाललाई पोजिटिभ गर्नेखालको छवि बढाउने काम गर्न सकिन्थ्यो । बौद्धमार्गी धेरै भएकाले त्यो एउटा अर्को राम्रो अवसर देखेका छौं ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।