• ९ मंसिर २०८१, आइतबार

आडम्बर प्रवृत्तिको विकल्प

blog

इतिहासलाई नियाल्दा मान्छेकै निरन्तर श्रममा समाजको रचना भएको देखिन्छ । यसकारण मानिसद्वारा गरिने सबैखाले श्रमको उपज नै आजको विकसित र प्रविधिमैत्री समाज हो । वस्तुतः मानिस सामाजिक प्राणी हो । समग्र मानवीय क्रियाकलापको सङ्केन्द्रण नै समाज हो । समाज समग्र हो भने मान्छे अंश हो । यही अंश अंशहरूको समुच्चय नै समाज हो । अर्थात् विभिन्न व्यक्ति, परिवार र समुदायको बृहत्तर वा केन्द्रीकृत संरचना नै समाज हो । यसमा हरेक आयाम एकअर्कामा अन्तरनिर्भर, अन्तरसम्बन्धित र परिपूरक हुन्छन् । एउटा आयामले गरेको सकारात्मक वा नकारात्मक गतिविधिले सिङ्गो सामाजिक भाष्यमा असर गरिरहेको हुन्छ । व्यक्ति, परिवार, समुदाय र समाजले खास अर्थराजनीतिक संस्कार र परम्परा अनुरूप गरिने सम्पूर्ण सामाजिक कर्मकाण्डलाई नै सामाजिकी भनिन्छ । वस्तुतः सामाजिकी स्वतःस्पूmर्त पैदा हुने विषय होइन । यो कसैलाई मनोगत इच्छा वा चाहना लाग्दाबित्तिकै रातारात स्थापित भइहाल्ने सवाल होइन । यसका लागि खास मानव समाजलाई कस्तो अर्थराजनीतिक दृष्टिकोणले दिशानिर्देश गरिरहेको छ भन्ने सारभूत आयाम निर्णायक हुन्छ । किनभने अर्थराजनीतिक दृष्टिकोण अनुरूप नै सांस्कृतिक रीतिरिवाज र परम्पराहरू निर्धारण हुन्छ । सिङ्गो सामाजिकीलाई राजनीतिक सत्ताजन्य वैचारिक दृष्टिकोणले नेतृत्व गरिरहेको हुन्छ । सामाजिकीको सही र गलतपना अनि उत्पादनशील र अनुत्पादनशील भन्ने आधारभूत कुरा त्यसलाई नेतृत्व गर्ने राजनीतिक सत्ताको आधारभूत चरित्रमा निर्भर हुन्छ । 

वर्तमान मानव समाजले अभ्यास गरिरहेको समग्र सामाजिकीहरूलाई नवउदारवादी पुँजीवादी अर्थराजनीतिले निर्देश गरिरहेको छ । नवउदारवादी पुँजीवादको आधारभूत राजनीतिक, आर्थिक, सामरिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक सत्ताको चरित्र भूमण्डलीकृत हुन्छ । अर्थात् सबै सत्ताका आयामहरूको विशेषता विश्वव्यापी हुने गर्दछ । प्रभाव, पकड र नियन्त्रण पनि विश्वव्यापी नै हुन्छ । यही मेसोमा आजको नवउदारवादी अर्थराजनीतिक सत्ताको सांस्कृतिक पक्ष चरम उपभोगवादद्वारा निर्देशित रहेको छ । उपभोगवादद्वारा निर्देशित सांस्कृतिक सत्ता अन्तर्गत अभ्यास गरिने प्रायः सबै सामाजिकी आडम्बरी र तडकभडकपूर्ण हुने गर्दछ । यो ढोँग, ढर्रा, रूपवादी र भड्किलो हुन्छ । यस्तो खाले सामाजिक सांस्कृतिक सताले नेतृत्व गरिरहेको समाजमा गरिने हरेक सामाजिकी असाध्यै अनुत्पादक र खर्चिलो हुने गर्दछ । यो सामाजिकी अन्तर्गतको सार्वभौम नियम हो ।

आडम्बरी सामाजिकीको सन्दर्भमा विषय उठाइरहँदा हामीले २०८० सालको दसैँ मनायौँ । यसरी चाडबाड मनाउने सिलसिलामा हाम्रो वस्तुगत सामाजिकी प्रस्ट देख्न सकिन्छ । ढोँग र आडम्बरको देखासिकी कति हुन्छ तपाईं हामी प्रायः सबै नै भुक्तभोगी छँदै छौँ । वास्तवमा नेपालको राष्ट्रिय अर्थराजनीति पनि नवउदारवादी पुँजीवादद्वारा निर्देशित रहेको छ । यहाँ पनि राजनीति, अर्थतन्त्र, सुरक्षा, संस्कृति र धर्ममा नवउदारवादी भूमण्डलीकृत सत्ताको प्रभाव छँदै छ । त्यसमध्ये पनि उपभोगवादी संस्कृतिको बछिटा झनै भयावह देखिन्छ । किनभने सांस्कृतिक आयाम अझ भावनात्मक र संवेदनशील हुन्छ । उपभोगवादी संस्कृतिको प्रभाव विकसितभन्दा विकासशील मुलुकमा बढी हुन्छ । त्यहाँ भोक, प्यास र चाहना अत्यधिक वा असीमित हुन्छ । धरातललाई अनदेखा गर्दै निरपेक्ष रूपमा देखासिकीमा बहकिने वा नक्कल गर्ने गरिन्छ । परिणामतः त्यस्तो समाजमा समग्र सामाजिकी असाध्यै आडम्बरपूर्ण र खर्चिलो हुने गर्दछ । यही नियम अनुरूप नेपाली समाजको सामाजिकी असाध्यै खर्चिलो बन्दै गइरहेको छ जुन साधारण, सोझो र औसत आम्दानीको स्रोत व्यवस्थापन गर्नेहरूलाई धान्न धौ धौ परिरहेको कसैमा छिपेको छैन । 

उपभोगवादी सामाजिकी अन्तर्गत सम्पूर्ण सामाजिक क्रियाकलापहरू तडकभडक र आडम्बरमा आधारित हुन्छ । यसमा कामको उत्पादकत्व, औचित्य र व्यावहारिकतालाई नजरअन्दाज गरिन्छ । सामाजिक, सांस्कृतिक, धार्मिक तथा रीतिरिवाजजन्य सबै गतिविधिलाई रूप र रवाफवादी दृष्टिकोणको तराजुमा जोख्ने गरिन्छ । अनावश्यक इज्जत, प्रतिष्ठा, दम्भ र घमन्ड प्रदर्शनका रूपमा ग्रहण गरिन्छ । सान, मान र उपभोगवादी सोखमा सामाजिकी कैद हुन पुग्दछ । आज हाम्रो समाजमा हुने प्रायः अधिकांश चाडबाड, विवाह, भोजभतेर, व्रतबन्ध, पास्नी, पुराण, गुन्यूचोलो, पितृपूजा, शुद्धिकार्य र जन्मदिन जस्ता सामाजिक कार्यलाई प्रतिष्ठा र आर्थिक वैभवसँग जोड्न थालिएको छ । सामाजिक कार्यको तामझामबाट नै उसको सामाजिक राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षमता र योग्यता मापन गरिन्छ । सफलता र असफलता निर्धारण गरिन्छ । यस अतिरिक्त अन्य सबैखाले मानवीय क्रियाकलापहरूको प्रकृति पनि भड्किलो र खर्चालु बन्दै गइरहेको छ । अर्थात् उपभोगवादद्वारा निर्देशित समाजमा चुनाव पनि विकृत र भड्किलो बन्दै गइरहेको छ । चुनाव पनि उपभोगवादको भड्खालोमा छ ।

वस्तुतः नेपाली समाजलाई पनि उपभोगवादी संस्कृतिले नराम्ररी गाँजेको छ । यस्तो संस्कृति हाबी भएको समाजमा रूपवादी ढोँग, आडम्बर र रवाफजन्य हर्कत सामान्य हुने गर्दछ । सामाजिकीको सार नै मिडिया स्टन्टबाजी, हल्लाखल्ला र रूपवाद हुने गर्दछ । समयसापेक्ष समायोजन हुन नजान्ने पटमूर्ख हुनुपर्ने छ । तब यही भयका कारण उसले जसरी, जहाँ र जस्तोसुकै सामाजिक कार्यमा उपस्थित हुनै पर्दछ । उपभोगवादी सामाजिक कार्यमा तडकभडकपूर्ण उपस्थिति जनाउनै पर्ने हुन्छ । तब मात्र ऊ औसत सामाजिकी बचाउन सफल हुने छ ।

खर्चिलो सामाजिकीको दृष्टिपर्दा ढाक्नका लागि कि त घरखेत बेच्नुपर्ने अवस्था छ, कि त सामाजिकीलाई अस्वीकार गर्नुपर्ने हुन्छ वा अस्वाभाविक कमाइमा लाग्नुपर्ने हुन्छ । यसलाई अस्वीकार गर्नु भनेको दुस्साहस गर्नु बराबर हो । किनभने सारा समाजको सामाजिक माहोल आडम्बरी सामाजिकीको गुरुत्व केन्द्रवरिपरि फन्को मारिरहेको छ । हाम्रो समाजको वस्तुगत धरातल र समाजका सदस्यको सचेतना र क्षमता अनुरूप कस्तो सामाजिकी वस्तुवादी हुन्छ भनेर न त राजकीय, न त समुदायगत, न त संस्थागत अनि न त व्यक्तिगत रूपमा कुनै बहस छलफल केही भएको छैन । समाज जे गर्छ सबै ठिकै गर्छ भन्दै सङ्गीतको धुन अनुरूप नाच्नु पर्छ ।

हाम्रो सामाजिक संस्कार उपभोगवादी, आडम्बरी, अनावश्यक र अनुत्पादनशील लेपन लगाएर सिङ्गो सामाजिक सौन्दर्य खडा गरिएको छ । यसो भएपछि धन, मन र तन हुने वा नहुने सबै बाध्य भएर भड्किलो सामाजिकी धान्न बाध्य हुन्छन् । उदाहरणका लागि घरको आँगनमा बनाइने मण्डप महँगो र चर्चित पार्टी प्यालेसमा बन्न थालेका छन् । यहाँसम्म कि राजनीतिक कार्यक्रमका अतिरिक्त व्रतबन्ध, बर्थडे, गुन्युचोलो, पास्नी, छेवर, पुराण, बिदाइ, स्वागत, बधाई वा सम्मान लिनेदिने सबै सामाजिक कार्यहरू नाम चलेका पार्टी प्यालेसमा गर्नै पर्ने सामाजिकी बनिरहेको छ । तत्काल नसक्नेहरूले म पनि पछि गर्छु भनेर चित्त बुझाउनुपर्ने छ । उपभोगवादले सदैव देखासिकीको माग गरिरहन्छ । त्यति मात्र होइन, बधाई र सम्मान दिनै पर्ने लिनै पर्ने, खादा, माला र अबिर जात्रा गर्नै पर्ने, सम्मानपत्र छाप्नै पर्ने, श्रद्धाञ्जली व्यक्त गर्नै पर्ने, समवेदनापत्र दिनै पर्ने, फोटो खिच्नै पर्ने, सामाजिक सञ्जालमा हाल्नै पर्ने, लाइक कमेन्टको अपेक्षा राख्नै पर्ने, भाइरल बनाउनै पर्ने, शुमकामना वा शुभेच्छा आदानप्रदान गर्नै पर्ने, स्वागत र बिदाइ गर्नै पर्ने, धन्यवाद भन्नै पर्ने, भ्युटावरहरू चढ्नै पर्ने, फनपार्कहरू घुम्नै पर्ने, गेटटुगेदर गर्नै पर्ने, होटल रेस्टुराँको खानपान शैली अपनाउनै पर्ने, मौसमी र बेमौसमी भोजभतेर गर्नै पर्ने, जानै पर्ने अनि परिणाम वा उत्पादनभन्दा ठुलो खर्च गर्नै पर्ने सामाजिकी कायम गर्नु सबैलाई सजिलो छैन ।

मान्छे सामाजिक प्राणी हो । यसकारण समाजमा सबैखाले सामाजिकी अनिवार्य हुन्छ । यसमा हामी शतप्रतिशत सहमत छौँ तर आजको हरेक सामाजिकी अलि बढी उपभोगवादी, रूपवादी, अनुत्पादक, आडम्बरी, भड्किलो र अति खर्चिलो हुँदै गएको प्रति भने चासो राख्नु सचेत नागरिकको सचेत दायित्वभित्र पर्छ । यस्तै तडकभडकपूर्ण सामाजिकीलाई अनुकरण र अनुसरण गर्दै जाँदा भोलि हाम्रो समाज कहाँ पुग्छ ? संस्कार र संस्कृतिको मौलिकता कता जान्छ ? मितव्ययिता, उत्पादनशीलता र व्यावहारिकता लोप भएर कता बिलाउँछ ? उपभोगवादी आडम्बरमा बहकिँदा र बरालिँदा त केही छैन । रसरङ्ग र रमाइलै हुन्छ तर यस्तै सामाजिकीले समाजलाई अझ उन्नत, सभ्य, विवेकशील र अनुशासित बनाउने कुरा कल्पनै गर्न सकिन्न । यसकारण हामी सबैले यसबारे गम्भीर एवं सचेत पहल लिन जरुरी छ । 

यद्यपि हाम्रो सामाजिकीलाई दिशानिर्देश गर्ने मूलभूत पक्ष भनेको राजनीतिक दृष्टिकोण नै हो । वस्तुतः दलाल पुँजीवादमा आधारित नवउदारवादी पुँजीवादले निर्धारण गर्ने सामाजिकी भड्किलै हुने गर्दछ । यसकारण सही, वस्तुवादी र व्यावहारिक सामाजिकी निर्माण गर्ने हो भने राजनीतिक संस्कारको विकल्प खोज्न जरुरी छ । उन्नत मानव समाज व्यवस्थाको लामो र कष्टसाध्य ऐतिहासिक प्रक्रियामा क्रियाशील कम्युनिस्ट पार्टी वा सिद्धान्तबाट मात्र यसको सही समाधन सम्भव हुन्छ । आडम्बरी र भड्किलो सामाजिकीलाई विस्थापन गर्दै प्रगतिशील, विवेकशील र व्यावहारिक सांस्कृतिक थिति बसाल्ने हो भने वित्तीय पुँजीद्वारा निर्देशित नवउदारवादी अर्थराजनीतिक समाज व्यवस्थाको उन्नत विकल्प खोज्नुपर्ने हुन्छ । तब मात्र सामाजिक पर्व र त्यसलाई मनाउने तरिकाहरू कम खर्चिलो, उत्पादनमूलक र व्यावहारिक हुन्छ तर नवउदारवादी विचारद्वारा निर्देशित भएर उन्नत र प्रगतिशील सामाजिक संस्कृति विकास सम्भव हुँदैन । कसैले त्यस्तो कल्पना गर्छ भने त्यो सरासर ढाँटछल मात्र हो ।

Author

राजेन्द्र किराती