• २० असोज २०८१, आइतबार

सरायँ नाचमा भक्तजनको घुइँचो

blog

मन्दिर परिसरमा सरायँ नाच प्रदर्शन गरिदै । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

पाल्पा, कात्तिक ११ गते । नेपाली लोक संस्कृतिको पहिचान झल्काउने महत्त्वपूर्ण सरायँ नाच आज पाल्पाको तानसेन नगरपालिका –११ मा रहेको लिपिन्देवी मन्दिरमा प्रदर्शन गरिएको छ । 

देवीलाई चामलको रोट बनाएर प्रसाद चढाउने, बलिपूजा गर्ने र सरायँ नाच हेर्ने भक्तजनको घुइँचो लागेको छ । पूर्णिमाको दिनमा मन्दिर घटस्थापनामा राखिएका खुकुरी तरबार, खुँडा र लठ्ठी हातमा नचाउँदै पञ्चेवाजाका तालमा नाच्दै देखाइने यो नाच प्रसिद्ध जात्राका रूपमा लिइन्छ । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलेका अनुसार ऐतिहासिक युद्धको विजयपश्चात् युद्धमा प्रयोग भएको सामग्रीको कलात्मक रूपमा प्रस्तुत गरिने सरायँ नाचलाई संरक्षण गर्न आवश्यक छ । 

लिपिन्देवी मन्दिरको ऐतिहासिक तथा धार्मिक विश्वासलाई बचाइराख्न वडाले विभिन्न कामहरू गर्दैआएको र आगामी दिनमा पनि यहाँको महिमा चिनाउन लागी पर्ने तानसेन नगरपालिका ११ का अध्यक्ष यादवसिंह कार्कीले बताउनुभयो । 

हर्षोल्लासका साथ मनाइने सरायँ नाच हेर्नेको भिड हुने लिपिन्देवी मन्दिरमा प्रेम गर्ने जोडी आफ्नो प्रेम सफल होस् भन्ने मनोकाङ्क्षा र विवाहित जोडी सफल दाम्पत्य जीवनको वर माग्न आउनेगरेको लिपिन्देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खातीले जानकारी दिनुभयो ।