• २३ असार २०८२, सोमबार

सद्भाव आधार बलियो बनाउने योजना

blog

नेपालगञ्जमा आयोजित सद्भाव र्‍यालीमा सहभागी धर्मगुरु लगायत । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, कात्तिक ११ गते । नेपालगन्जलाई सामाजिक तथा धार्मिक सहरको रूपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ ।

सद्भावको सहरको आधारलाई थप बलियो बनाउने दीर्घकालीन योजनाका साथ  मुख्य धर्म केन्द्रित नयाँ युवापुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘यो अभियान नेपालगञ्जसँग जोडिएको हुँदा आमनागरिकबाट सहकार्य हुने अपेक्षा प्रशासनको छ ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले यो अभियानका सन्दर्भमा आमजिल्लाबासीसँग राय सुझाव समेत माग गरिएको जानकारी दिनुभयो । 

असोज मध्यमा नेपालगन्जमा दुई समुदायबिच तिक्तता बढेपछि प्रशासनले भविष्यमा यसखालका घटना नहोस् भनेर दीर्घकालीन सोचका साथ हिन्दु र मुस्लिम धर्ममा आस्था राख्ने अगुवा युवाको सहभागितामा अन्तर संवादमार्फत अघि बढ्ने योजना बनाएको हो । 

नेपालगन्जमा हिन्दु, मुस्लिमलगायतका विभिन्न धर्मका गुरुको सहभागितामा सद्भाव समिति रहेको छ । सो समितिले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रशासनसँग मिलेर पहलकदमी गर्दैआइरहेको छ । असोजमा दुई समुदायका केही व्यक्तिबिच देखिएको असमझदारी अन्त्यका लागि समेत धर्मगुरुले अग्रसरता देखाउनुभएको थियो । 

असोजमा भएको तनावपछि बाँकेको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भई आउनुभएका पोखरेलले सामाजिक सद्भावलाई प्राथमिकता दिँदै आउनुभएको छ ।