सिराज खान
नेपालगन्ज, कात्तिक ११ गते । चाडपर्व सुरु भएपछि रक्तदान कार्यक्रम घट्दैजाँदा बाँकेमा फेरि रगत अभाव भएको छ । रगत अभाव हुन थालेपछि अभाव टार्नका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
सोही आग्रह बमोजिम जिल्लामा रक्तदान कार्यक्रमहरू आयोजना गर्न थालिएका छन् । सोही क्रममा नेपालगन्जभन्दा बाहिर ग्रामीण क्षेत्रमा पहिलो पटक बृहत् रक्तदान कार्यक्रम गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा वडा ६ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९६ जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीको आयोजना र वडा ६ को आर्थिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलगायत ९६ जनाले रक्तदान गरेर रगत अभाव टार्न ठुलो सहयोग गरेको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरीले बताउनुभयो ।
उहाँले राप्तीसोनारीका स्थानीय युवाले रक्तदानमा देखाएको चासो निकै सराहनीय रहेको बताउनुभयो । सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले १७६ औँ पटक, केन्द्रीय सदस्य प्रवास शाक्यले ८० औँ पटक र बाँके जिल्ला अध्यक्ष दिला शाहले २६ औँ पटक रक्तदान गर्नुभयो ।
सोही प्रकारले स्थानीय कृष्णप्रसाद खत्री, सन्तोष थारु, मनोज हरिजन, अरुणकुमार यादव, रामप्रताप मौर्य, रामशंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका अध्यक्ष दिव्य गुरुङ, समाजका सचिव सुकराम थारु, हरिप्रसाद थारु, निमबहादुर बुढाथोकी, गिरबहादुर जिएम, प्रेमबहादुर थारु, मनोजकुमार मौर्य, रामप्रसाद थारु, गणेशबहादुर मगर लगायत ९६ जनाले रक्तदान गर्नुभयो ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले रगत अभाव टार्न आफ्नो गाउँपालिकाले पनि सानो सहयोग गरेकोमा स्थानीय रक्तदातालाई आभार व्यक्त गर्नुभयो । उहाँले अब कम्तीमा तीन–तीन महिनामा गाउँपालिकामा रक्तदानको व्यवस्था गरिने पनि बताउनुभयो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, महेशराना क्षेत्री, सुनिल रत्गैया, पुनम राना, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, बाँकेका सल्लाहकार पूर्णलाल चुके, सल्लाहकार तथा समाजसेवी माधवराम वर्मा, सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवाल, समाजका सचिव भिष्म लोध, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका उपाध्यक्ष अमृता केसी, कोषाध्यक्ष सुशीला थारु र राप्ती सोनारी गाउँपालिका –६ का वडाध्यक्ष लबराज खरेलको पनि सहभागिता थियो ।