तानसेन समाचारदाता
पाल्पा, कात्तिक ११ गते । यस वर्षको बडादसैँ सराय नाचेर बिदाइ गर्ने तयारी गरिएको छ । पाल्पाको विभिन्न स्थानमा रहेका कोतघर, देवीका मेन्दिर, दुर्गा मन्दिर, थुम्का, मौलादेवीका मन्दिरमा सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको हो ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि सराय नाचेर यस वर्षको बडादसैँलाई बिदा गर्ने तयारीमा लागेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् । घटस्थापनादेखि सुरु गरिएको दुर्गा, देवी, भगवतीको पूजा आराधना सराय नाच नाचेपछि पूजासमेत विसर्जन गर्ने प्रचलन छ । यस्तो प्रचलन पाल्पासहित गुल्मी, अर्घाखाँची, पर्वतलगायतका जिल्लामा समेत कायम रहेको छ ।
दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन मन्दिरभित्रका खुँडा, खुकुरी, भालालगायतका हतियारसहित नाच्ने नाचलाई सराय भन्ने गरिन्छ । यो वर्ष जिल्लाको लिपिनदेवी, बौघागुम्हा, रैनादेवी छहरा, मुझुङ, मस्यामलगायतका स्थानमा सराय नाच्ने तयारी गरिएको स्थानीय बासिन्दाको भनाइ छ ।
विगतमा जस्तै यो वर्ष पनि सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको तानसेन–११ का स्थानीय बासिन्दा दामोदर घिमिरेले बताउनुभयो । यस्तै रैनादेवी छहरा, बौघागुम्हामा समेत सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको छ ।
तानसेन–१४ का स्थानीय बासिन्दा टुकबहादुर थापाले स्थानीय युवा खुँडा, भालासहित बाजाको तालमा वाख्खै भन्दै नाचेपछि देवी मन्दिरको पूजा स्थगन गरिने बताउनुभयो ।
सराय नाचलाई हतियारको विसर्जनका रूपमा समेत लिने गरिएको थापाले बताउनुभयो । जिल्लाको विभिन्न स्थानमा कोजाग्रत पूर्णिमाको दिन सराय नाच्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।