तिमीसँग
सुख फिँजाउने ठाउँ अपुग भएपछि
म कहाँ पठाएका हौ यी दुःखका बिउहरू ?
कस्तो अचम्म !
बियाड पनि चाहिएन यी मलाई रोप्न, हुर्काउन
न पानी, न घाम
न मल, न गोडमेल
केही नगरीकनै झाँगिए यी मेरो आँगनमा
हेर्दाहेर्दै
ओत, आँधीमा पर्यो
होस, परिवेशले उडायो
फुत्त–फुत्त !
कहाँबाट आउँछन्, आउँछन्
सन्त्राशका यी वाणहरू
र, रातलाई चाल्नु बनाएर जान्छन्
सुन्दासुन्दै बस्तीको आर्तनाद
शून्यतामा परिणत हुन्छ भर्खरै ओर्लिएको बिहान
र, गिद्धहरू
छेवैको रुखको हाँगामा बसेर गीत गाइरहेका हुन्छन्
कति हेर्नु कहिल्यै छुन नसकिने त्यो आकाश ?
कति सुन्नु कहिल्यै नथाक्ने यी उच्छ्वास ?
महिषासुर पहरेदार भएको छ,
र, सास हत्केलामा अड्किएको छ
रक्तनलीमा नाचिरहेछन्
किसिम किसिमका किटाणुहरू
दिल र दिमागमा फलामे किला ठोकिएको छ
के यही सत्य हो–
तिमीलाई उक्लनु थियो कुनै शिखर
र, मेरो हिस्साको बाटो तिमीले ओगटेका हौ ?
तिमीलाई रमाउनु थियो कुनै ज्यादतीमा
र, मेरो ओठको मुस्कान मबाट लपेटेर लगेका हौ ?
तिमीलाई बनाउनु थियो आफ्नै एउटा सुन्दर सालिक
र मेरो सौन्दर्यमाथि आँखा लगाएका हौ ?
म यसरी
कतिन्जेल पानीमा विष छानिरहुँ
म यसरी
कतिन्जेल धुवाँको मुस्लो बाटिरहूँ
भीष्मभन्दा जब्बर भएर
म यसरी
कतिन्जेल बरफको ओछ्यानमा सुतिरहूँ
भो; पुग्यो
तिमीसँग अब कुनै कारण सोध्नु पनि छैन
तिमीले दिने विकल्प रोज्नु पनि छैन
बस् ! मलाई अब
यत्ति मात्रै जान्नु पर्याप्त छ–
तिम्रा लागि
मैले ढुङ्गा हुने दिन कहिले आउँछ ?
तिम्रा लागि
मैले ढुङ्गा हुने दिन कहिले आउँछ ?