• १ जेठ २०८१, मङ्गलबार

भारतबाट भित्रिएको अवैध सामान निरन्तर बरामद

blog

तस्कर फरार भएपछि केही दिन अघि मात्र बरामद गरिएको सामान र मोटरसाइकल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ७ गते । सीमापारीबाट भन्सार छलेर भित्रिएका सामान प्रहरीले लामो समयदेखि बेला बेलामा बरामद गर्दै आएको छ । प्रहरीले अवैध सामान पक्राउ गर्दै आए पनि चोरी पैठारी गर्नेहरु भने कहिलेकाँही मात्रै पक्राउ पर्ने गरेका छन् । 

बाँकेमा चोरी पैठारी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायले अवैध सामान त बरामद गर्छन् तर त्यसमा संलग्न तस्करलाई भने पक्राउ नगर्ने गरेको पाइएको छ ।

तस्करीको सामान बरामद गरेको विवरण सार्वजनिक गर्ने सुरक्षा निकायको सधैँको ‘रेडिमेट’ जवाफ हुन्छ, ‘चोरी पैठारी गरी ल्याइएका सामानहरू बेवारिसे अवस्थामा बरामद ।’

तस्करी गर्ने र त्यसरी भित्रिएको सामान खरिद गर्ने व्यापारी पक्राउ नपर्दा दिनानुदिन तस्करको मनोबल बढ्ने गरेको छ । नेपाल भारत नाकामा रहेका स्थानीयका अनुसार अधिकांश तस्करी ‘सेटिङ’मा हुने गरेको छ भने ‘सेटिङ’ भत्किएको अवस्थामा पनि तस्करलाई पक्राउ नगरेर बेवारिसे भन्दै सामान मात्र बरामद गर्ने गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यले तस्करलाई पक्राउ गरेर कारवाही गर्ने नगरिएकोले नै तस्करी र अवैध आयात निरन्तर जारी रहेको बताउनुभयो । उहाँले बेवारिसे सामान कसरी प्राप्त हुन्छ, त्यो कुरा अहिलेसम्म बुझ्नै नसकिएको बताउनुभयो । 

हालै नेपालगन्ज–१ राझाँ चोक नजिकबाट ठूलो मात्रामा खाद्यान्न बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले एक लाख ४२ हजार रुपियाँबराबरको ७१ बोरा चामल र ७० हजार रुपियाँ बराबरको १४ बोरा चिनी गरी कुल २ लाख १२ हजार रुपियाँको खाद्यान्न बरामद गरेको छ ।

सोही प्रकारले केही दिन अघि मात्र पनि प्रहरीले परिमाणमा केही थान मोटरसाइकलसहित ठूलो परिमाणमा अवैध सामान बरामद गरेको थियो । त्यस बेला पनि सामान बेवारिसे भन्दै सार्वजनिक गरिएको थियो । 

प्रहरीले कहिले काँही तस्करका भरियाका रूपमा रहेका गरिब तथा विपन्न परिवारका व्यक्तिलाई मात्र पक्राउ गर्ने गरेको छ । तर मुख्य तस्कर र अवैध सामान ओसारपसार गर्नेलाई पक्राउ गर्ने गरिएको छैन । 

दैनिक गुजाराका लागि साइकल, मोटरसाइकल र पिठ्युँमा चिनी, लत्ताकपडा लगायत बोकेर ल्याउने स्थानीयलाई मात्रै छेकवार गर्ने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ । 

प्रहरीले भने सो आरोपको खण्डन गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले अधिकांश घट्नामा तस्करहरु प्रहरीलाई देखेर भाग्ने गरेकोले उनिहरु पक्राउ नपर्ने गरेको बताउनुभयो । 

उहाँले अधिकांशले सामान र मोटरसाइकल तथा साइकलनै छोडेर भारततर्फ भाग्ने गरकोले पक्राउ गर्न समस्या हुने गरेको बताउनुभयो ।  

नेपालगन्जमा चिनी, रासायनिक मल, सिमेन्ट, छड, टीभी, पंखा, दाल, साइकलका पार्टपुर्जा, नुन, कपडा, चप्पल, खेलौना, खाने तेल, बिस्कुट, माछा, चल्लालगायतका सामान दैनिक रुपमा अवैध रुपमा भित्रिने गरेको छ ।