• ७ जेठ २०८१, सोमबार

बाजुराका भूकम्प पीडितको दसैं खल्लो

blog

भूकम्पले घरबासविहीन भएपछि त्रिपालमा बसोबास गर्दै आएका खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका जितबहादुर सार्की । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ७ गते । बाजुराका भूकम्प पीडितका लागि यती बेलाको दसैं खल्लो बनेको छ । गत असोज १६ गते आएको भूकम्पले बाजुराका अधिकाशं स्थानीयवासी अहिले त्रिपालको बास गरिरहेका छन् । 

सधैँ सेतो माटोले घर लिपपोत गरेर दसैं मनाउने गरेका उनीहरुको यतिबेला आकाशमुनि त्रिपालको बास भएकाले दसैं खल्लो बनेको हो ।  

 गत वर्ष घरमा राम्रोसँग बसेर दसैं मनाउँदा रमाइलो भएको थियो । यो वर्ष भूकम्पले घर भत्काएर त्रिपालको बसा गराएपछि दसैं खल्लो बनेको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका जित सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असोज १६ गते गएको भूकम्पले घरबारविहीन बनाएपछि अहिले खुल्ला आकाशमा बास बसेका छौ । यती बेला दसैं तिहारमा रमाइलो गर्नु त के बिहान बेलुकाको छाक पनि कसरी टार्ने भन्ने निकै चिन्ता छ ।”

गत वर्षको बाढीले जमिन बगायो । यो वर्षको भूकम्पले घर भत्कायो । अब न जमिन रह्यो न त घर नै रह्यो । यो अवस्थामा अब के खाने र कहाँ गएर बास बस्ने भन्ने चिन्ता लागेको बेला दसैं खल्लो बन्दै गएको सार्कीले बताउनुभयो ।

गत वर्षको माघमा आएको भूकम्पले बाजुरामा धेरै घर क्षति भएका थिए । यो वर्षको असोज १६ गते गएको भूकम्पले पनि  धेरै घर छानामा ठूलो क्षति गरेको छ ।

गत बर्खाको समय बाजुराका अधिकांश स्थानीय निकायमा सुचारु हुने सडक पुलसमेत बाढीपहिरोका कारण तहसनहस भएका थिए ।

सडक स्थानीय सरकारले दसैं अगावै सुचारु गरे पनि भूकम्प पीडितको भने अझैँ बसोवासका लागि कुनै व्यवस्था गर्न सकेको छैन ।

भूकम्पले बाजुरामा १२६ पूर्ण १७६ आशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनुभयो ।

बाजुराका भूकम्प पीडितलाई व्यवस्थापन गर्ने गरी जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयसँग समन्वय गर्दै आएको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो