• १ जेठ २०८२, बिहिबार

दुर्गा मूर्ति विसर्जनका लागि प्रशासनद्वारा समयसीमा निर्धारण

blog

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय बाँकेको कार्यालय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ६ गते । जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समयसीमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । 

उहाँले दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् साैम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मूर्ति विसर्जन कार्य सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

प्रजिअ पोखरेलले विसर्जन र्‍यालीमा घुसपैठ वा अवान्छित गतिविधि निस्तेज पार्न र र्‍यालीलाई शान्त र सौहार्दवपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्बिर क्याप्चर गरी अवलोकन गरिने बताउनुभयो । 

उहाँले कानुन विपरीतका गतिविधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्बिर-भिडियोको आधारमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने हुँदा र्‍यालीमा सहभागी सबै भक्तजनले निश्चिन्त भइ मर्यादित ढङ्गबाट मूर्ति विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै मूर्ति विसर्जन अघि दुर्गा भवानीको पूजास्थलमा दिनको १२ बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेको छ । सूचनामा विधिपूर्वक पूजाअर्चना सकेपश्चात् स्थानीय प्रहरी एकाइसँग समन्वय गरी विसर्जनस्थलतर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

समयसिमाले ट्राफिक व्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने सूचनामा जनाइएको छ । साँझ ५ बजे अघि नै मूर्ति विसर्जन हुने वातावरण निर्माण गरिदिन सबै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरिएको छ ।  प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको ¥याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा जानकारी गराएको छ ।