अनिल पराजुली
हेटौँडा, कात्तिक ५ गते । कोलखोप युवा क्लवले १२ नं. वडा स्तरीय फुटबल प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घले युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोलखोपले उपाधि जितेको हो ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ खेलकुद विकास समिति ठिंगनको आयोजनामा भएको फुटबल प्रतियोगितामा विजेता कोलखोपले नगद २५ हजारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता घले युवा क्लवले नगद १० हजार, शिल्ड र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । प्रतियोगितामा चार टीमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले युवा र खेलकुदलाई पालिकाले थप प्रोत्साहन गर्दै जाने बताउनुभयो । उहाँले खेलमैदान सुधार र व्यवस्थित बनाउनका लागि पालिकाले पाँचलाख विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडिलाई बकैया गाउँपालिकाका लामिछाने, ११ नं. वडा अध्यक्ष गोपाल नेसुर, १२ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, १२ नं. वडा खेलकुद विकास समिति ठिंगनका अध्यक्ष किरण घले, कान्ति माविका प्रध्यानाध्यापक जगतबहादुर घले, विद्यालय व्यवस्थापन समिति रुपेन घले, बकैया खेलकुद विकास समिति संयोजक विजय लामा, ईलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरी लगायतकाले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।