• ९ मंसिर २०८१, आइतबार

ऐतिहासिक सराँय नाच लोप हुने अवस्थामा

blog

सराँय नाँच नाँच्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक ४ गते । 
गुल्मीमा  ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची, प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाच्ने प्रचलन छ ।

मन्दिरमा भक्तजनले चढाएका खुकुरी, तरबार, खुँडा, खड्ग हतियार एक आपसमा ठोक्काउँदै ‘वाख्खै वा’ को भाषामा सरायँ खेलिन्छ । केही समय पहिले हतियारनै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो समय यसमा कमी हुँदै आएको छ ।

हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर धेरै हुने भएकाले यो पछिल्लो समय छोडिएको कतिपयले बताउँदै आएका छन् । जिल्लाका धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयघा, चन्द्रकोट लगायतका स्थानमा यो नाच अझै पनि प्रसिद्ध छ । गुल्मीको अर्जे फूलबारीमा खेलिने सराँय नाच जिल्लाकै सबैभन्दा ठुलो मानिन्छ । अर्जेमा सराँय नाच पूर्णीमाको दिन खेल्ने गरिन्छ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले सराँय नाचलाई संरक्षण गर्नका लागि कुनै कसर बाँकी नराख्ने दाबी गर्नुभएको छ । सामाजिक सद्भाव एकता कायम गर्नका लागि पनि सराँय नाँचले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यसको संरक्षणका लागि र सराँय नाचको व्यवस्थापन गर्नका लागि सम्पूर्ण जनप्रतिनिधिहरू खट्ने र भव्य रूपमा सम्पन्न गर्ने गरी कार्यपालिकाको बैठकबाट निर्णय समेत गरेको बताउनुभयो ।  धुर्कोट कोतमा आफू पनि हतियार नचाएरै सराँय खेल्ने गरेको बताउँदै यसको संरक्षण गर्न सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यता इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले इश्मा कोतमा रहेका सिमेन्टका मौलाहरू हटाई प्राचीन शैलीमा रहेका काठका मौलाहरू राखेको बताउनुभयो । मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्नका लागि कोतको पूजा समितिसँग समन्वय गरेर आफूहरूले काम गरेको भन्दै परम्परा र संस्कृतिलाई जोगाउन स्थानीय सरकार सधैँ साथमा रहेको दाबी गर्नुभयो ।

पट्टा र मालश्री पनि लोप हुँदै

पछिल्लो समय फूलपाती भित्र्याउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फूलपाती ल्याउने र इस्माकोतबाट ब्राह्मण र पुजारीहरू झरेपछि मैदानमा करिब डेढ घण्टा रोचक पट्टा नाच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुमबहादुर बस्नेतले बताउनुभयो । यो परम्परा अरू कसैका लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको उहाँको भनाइ छ ।

यो रोचक नाच र गीत पाको पुस्तासँगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताउनुभयो । आफूहरूले सिकेको मालश्री अब आफूहरू पछि गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आउनुभएका इस्मा रजस्थलका शोभाखर पैयानीले बताउनुभयो । त्यस्तै सराँय नाच पनि उस्तै अवस्थामा छ । सिक्ने र सिकाउने पुस्ता बिचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको भन्दै पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा यहाँका बुढा पाकाहरूले जोड दिनुभएको छ ।