• २ जेठ २०८२, शुक्रबार

रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानको काम अघि बढाउन माग

blog

फाइल तस्बिर

राजविराज (सप्तरी), कात्तिक १ गते । पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताउनुभयो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि शिलान्यास भएको दुई वर्षसम्म निर्माण सुरु नगर्दा स्थानीय आक्रोशित बनेका छन् । “प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरू केही काम भएको छैन”, सङ्घर्ष समितिका संयोजक दासले भन्नुभयो । निर्वाचनका समयमा चुनावी मुद्दा बनेको प्रतिष्ठान यतिबेला अलपत्र बनेको भन्दै कसैले चासो नदेखाएपछि आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो ।

‘एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने नीतिअनुसार वि.सं.२०७५ पुस १६ गते मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । “प्रतिष्ठानले गजेन्द्रनारायण सिंह अस्पतालको एउटा कोठा भाडा लिएर सञ्चालनमा ल्याइएको छ । उक्त स्थानमा पूर्वाधार तयारी विकास समिति कार्यालयको बोर्ड राखिएको रहेको छ”, दासले भन्नुभयो,“गतवर्षको निर्वाचनमा समितिका अध्यक्ष डा.रोहित पोखरेल प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेपछि अर्को अध्यक्ष अहिलेसम्म नियुक्त गरिएको छैन ।”

अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशन डा.रञ्जितकुमार झाको पनि सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यकारी निर्देशकको पद पनि रिक्त रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रष्ठिानमा कार्यरत तीन करार कर्मचारीको म्याद सकिएपछि प्रतिष्ठान कर्मचारीविहीन बनेको छ ।

पदाधिकारीविहीन समितिको कार्यालयमा लाखौँ रुपियाँ खर्चेर खरिद गरिएका सामान थन्किएका दासले बताउनुभयो । “पूर्वाधार तयारी विकास समितिका लागि आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म १६ करोड दश लाख बजेट विनियोजन भएकामा तीन करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार खर्च हुन नसकेर फिर्ता भएको जनाइएको छ”, उहाँले भन्नुभयो । प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने मागसहित जारी रिले अनशनलाई आज सप्तरी यूथ नेपालले ऐक्बदता जनाएको छ । रासस