• २० असोज २०८१, आइतबार

नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ

blog

फाइल तस्बिर

राँझा (बाँके), कात्तिक १ गते । बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ । सहरका चोक-चोकमा स्थापना गरिएका दुर्गामूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ । 

नेपालगञ्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुई-तीनवटा मूर्ति स्थापना गरिएको छ । दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो । उहाँका अनुसार दुर्गामूर्तिमा घटस्थापनाका दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गामूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ । 

घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा मूर्तिको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । नेपालगञ्जमा दसैँको भोलिपल्ट एकादशीका दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा लगेर विसर्जन गरिन्छ ।

नेपालगञ्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनक छाएको छ । एकाबिहानदेखि अबेर रातसम्म भजनकीर्तन हुने गरेको छ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो । 

उहाँका अनुसार, बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा चार सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको अनुमान छ । दुर्गामूर्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनका लागि पुग्ने गरेका छन् । दुर्गामूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगञ्जवासी बजारका चोक-चोकमा घुमिरहने रामलीला हेर्ने परम्परा जस्तै भएको उहाँको भनाइ छ । 

नेपालगञ्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगञ्जका गल्ली-गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । रासस