• १२ साउन २०८१, शनिबार

‘बहुचर्चित पञ्चेश्वर बनाउनै पर्छ भन्ने माग जनताको छ’

blog

बैतडी जिल्लाको दक्षिणपश्चिम भेगमा पर्ने पञ्चेश्वर गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका र दक्षिणमा शिवनाथ गाउँपालिका रहेका छन् । स्थानीय तहको पुनर्संरचनापछि छ वटा वडामा विभाजित यस गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७६६ रहेको छ । क्षेत्रफलका आधारमा १२०.४१ वर्गकिलोमिटरमा फैलिएको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्छ । यद्यपि गाउँपालिकाका सबै गाउँबस्ती  विद्युतीकरण हुन सकेका छैनन् । पछिल्लो समय सङ्घीय र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडकखण्ड कालोपत्रे गरेसँगै सडक स्तरोन्नति भएपछि तराई–पहाड रुटमा सार्वजनिक यातायात बस सञ्चालन हुन थालेको छ ।

यस गाउँपालिकाले सबै वडामा कच्ची सडक निर्माण गरेको छ । पञ्चेश्वरबाट भारतसँगको आवागमनलाई सहज पार्न महाकाली नदीको पाँच ठाउँमा डुङ्गा सञ्चालनमा ल्याइएका छन् । झोलुङ्गे पुल निर्माण हुन सकेमा नेपाल–भारत आवागमन अझै सहज हुने अपेक्षा गरिएको छ । यस गाउँपालिकामा उखु खेती, तेलहन बाली, माहुरीपालनको उपयुक्त सम्भावना रहेको छ । यसका अतिरिक्त आलुलगायतको तरकारी खेती, फलफूल खेतीको प्रचुर सम्भावना बोकेको छ ।  स्थानीय तह दोस्रो कार्यकालका लागि दोहोरिनुभएका पालिका अध्यक्ष गोरखबहादुर चन्दसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गरेको कुराकानी : 


दोस्रो कार्यकालका लागि चुनाव जितेपछि जनतासित गरेका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?

पञ्चेश्वरका स्थानीय नागरिकले मलाई दोस्रो कार्यकालका लागि पुनः लोकप्रिय मत दिएर जिताउनुभयो । जनताले मलाई उदाहरणीय काम गर्ने जिम्मेवारी दिएका छन् । पहिलो कार्यकालमा सबै वडामा सडक पु¥याउन सफल भयौँ । वडा र गाउँपालिकाको भवन निर्माण ग¥यौँ । शून्य संरचनाबाट सुरु भएको गाउँपालिकामा अहिले आफ्नै सुविधासम्पन्न भवन छ । अधिकांश स्वास्थ्य चौकीका भवन थिएनन् । भवन निर्माण गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौँ । 


जनताको जीवनस्तरमा परिवर्तन आउने के के काम गर्नुभयो ?

यहाँका जनता यातायात सेवाबाट वञ्चित थिए । अहिले गाउँपालिकाको छ वटै वडामा सडक तथा यातायात सेवा पुगेको छ । बत्तीको व्यवस्था नहुँदा अँध्यारोमा बस्न बाध्य थिए । अँध्यारो हटाउन उज्यालो पञ्चेश्वर कार्यव्रmम सञ्चालन गरेर गरिब, विपन्न र दलित बस्तीमा सोलार वितरण गरिएको छ । सोलारले गर्दा विद्यार्थीलाई समेत पढ्न सजिलो भएको छ । 


शिक्षा, स्वास्थ्य र कृषिमा के के काम गर्नुभयो ? 

शिक्षातर्फ सबै विद्यालयमा इन्टरनेटको सुविधा पु¥याएका छौँ । नौ वटा विद्यालयमा विद्यार्थीलाई ई–लर्निङ गर्ने व्यवस्था गरिएको छ । गरिब र जेहेनदार विद्यार्थीलाई गाउँपालिकाले प्राविधिक र उच्च शिक्षा पढ्न एक लाख रुपियाँसम्म छात्रवृत्ति दिएको छ । स्वास्थ्यतर्फ यो वर्ष १० शøयाको गाउँपालिकास्तरीय अस्पताल निर्माण गर्न १३ करोड रुपियाँको ठेक्का आह्वान गरेका छौँ । कृषिमा आत्मनिर्भर पञ्चेश्वर बनाउने उद्देश्यले गाउँपालिकाले एक करोड रुपियाँ बजेट विनियोजित गरेको छ । यस बजेटबाट कृषि पाठशाला स्थापना गरे पनि त्यसमा खासै सफल हुन सकिएन । मेहनत गरेर खानेभन्दा पनि अनुदानका लागि मात्रै कृषकहरू केही समय जुर्मुमाएर रोजगारी खोज्न फेरि भारततिर लाग्ने गरेका छन् । पञ्चेश्वरबाट भारत नजिकै पर्ने भएकाले त्यहाँ मासिक १०÷१५ हजार भारु सजिलै कमाउन सकिने अवस्था छ । त्यही कारण आममानिसले गाउँपालिकाबाट सिधै मासिक तलबी रोजगारको अपेक्षा गर्दा कृषिमा गरेको लगानी अनुसारको प्रतिफल पाउन सकिएन । 


विकास निर्माण गर्दा मजदुरलाई गाउँमै काममा लगाउन सक्नुभएन नि ?

सडक निर्माण गर्दा पञ्चेश्वर गाउँपालिकाले स्थानीय मजदुरलाई नै काममा लगाएको छ । मेसिनको प्रयोग घटाएर अधिकतम मजदुरलाई रोजगारी दिने कुरामा गाउँपालिका सचेत छ । यस्तो भए पनि रोजगारीका लागि केही समस्या छन् । गाउँपालिकाले सबैलाई मासिक तलब दिने रोजगारी त दिन सक्दैन । रोजगारीको समस्या समाधान गर्न गाउँपालिकाले कृषि उत्पादनलाई जोड दिएको छ । गाउँमै उद्यम गर्न चाहने किसानलाई गाउँपालिकाले हजार होइन, लाखौँ रुपियाँ अनुदान दिएर आत्मनिर्भर बनाउने प्रयास गरिरहेका छौँ । यद्यपि गाउँको जमिन बाँझो राखेर युवा विदेश पलायन हुने दर रोक्न सकेका छैनौँ ।

 

उज्यालो पञ्चेश्वर कार्यक्रम भनेर सोलार मात्रै बाँड्नु भयो । छ वर्षसम्म बिजुली बाल्न सक्नुभएन नि ?

गाउँपालिकाले बिजुली बाल्ने पहल गरेर ठेक्का आह्वान गरेको थियो । कोरोनाकालमा ठेकेदार बेपत्ता भए । ठेकेदार खोज्न हामी काठमाडौँसम्म पुग्यौँ, भेटिएन । त्यसपछि विद्युत् प्राधिकरणसँग समन्वय गरी अहिले दुई वटा वडामा बिजुली बाल्न सफल भएका छौँ । अन्य चार वडामा विद्युत् विस्तारको काम चलिरहेको छ । छिट्टै हामी पूरै गाउँपालिका बिजुली बत्ती बाल्ने प्रयासमा छौँ । सदरमुकाममा २०४२ सालमा बिजुली पुगेको हो । पञ्चेश्वर आयोजनाका कारण सदरमुकामको बिजुली पञ्चेश्वर पुगेन । पञ्चेश्वरबाटै बिजुली बल्छ भन्ने हल्ला भयो । पञ्चेश्वर आयोजना अहिलेसम्म बन्न सकेको छैन । आयोजनाकै कारण महाकाली नदीमा पुल निर्माणको काम रोकिएको छ । पञ्चेश्वरवासी जोखिम मोलेर डुङ्गा तर्न बाध्य छन् । छिटोभन्दा छिटो पञ्चेश्वर आयोजना बन्नु पर्छ भन्ने हाम्रो माग छ । हामी पञ्चेश्वर आयोजना बन्ने कुराको प्रतीक्षामा छौँ । 


चुनाव जितेपछि जनताको घरदैलोमा कत्तिको जानु हुन्छ ?

जनतासित जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेका छौँ । यो कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू अनिवार्य रूपमा जनताकै घरदैलोमै जानुपर्ने व्यवस्था गरेका छौँ । जनताको दैलोमा नगइकन समस्या बुझ्न पनि गाह्रो हुने भएकाले जनप्रतिनिधि कार्यालयमै बसेर पनि हुँदैन । जनताको घरदैलोमा जानै पर्छ भनेर घरदैलो अभियान जारी राखेका छौँ । 


छेउमै महाकाली नदी भए पनि पञ्चेश्वरका अधिकांश वडामा खानेपानीको समस्या छ । गाउँपालिकाले केही योजना बनाएको छैन ?

खानेपानीको समस्या समाधान गर्न पञ्चेश्वर गाउँपालिका र  ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले अधिकांश बस्तीमा खानेपानीका धारा निर्माण गरेको छ । पानीको समस्या झेलिरहेका गाउँमा सङ्घ र प्रदेश सरकारबाट पनि ठुला आयोजना सञ्चालनमा छन् । केही वर्षभित्र पञ्चेश्वरमा एक घर एक धारा निर्माण सम्पन्न हुने छन् । 


गाउँपालिकामा जातीय विभेद र लैङ्गिक विभेद कायमै छ नि ? यस्ता कुरीति हटाउन गाउँपालिकाले के पहल गरेको छ ?

सामाजिक रूपमा रहेका कुप्रथा र परम्परा हटाउन म आफैँ अग्रसर भएर लागेको छु । सामाजिक रूपमा रहेका यस्ता कुप्रथा हटाउन गाउँपालिकाले दलित सञ्जाल र महिला सञ्जाल गठन गरेर प्रत्येक वडा र टोलमा यो विषयमा बहस गरिरहेका छौँ । छाउपडी प्रथा हटाउन राष्ट्रियस्तरका कलाकार बोलाएर जनचेतनामूलक गीत तथा नाटक प्रदर्शनी गरेका छौँ ।

 

गाउँपालिकाको आगामी रणनीति के छ ?

समृद्ध पञ्चेश्वर कसरी बनाउन सकिन्छ भन्ने विषय नै मुख्य कुरा छ । गाउँपालिकामा आउने विकासको बजेट पारदर्शी र जनमुखी बनाउने विषयमा हामी लागिपरेका छौँ । सङ्घीय सरकारबाट प्राप्त बजेटको अधिकतम सदुपयोग गरेर विकास निर्माण र जनताको जीवनस्तर बदल्ने कार्यक्रम निर्माण गर्छौं । अब भाषणमा होइन, यो कुरा व्यवहारमै लागु गरेर देखाउन चाहन्छौँ । 


स्थानीय तहमा भ्रष्टाचार हुने गरेको जनगुनासो आउने गरेको छ । पञ्चेश्वरमा के छ ?

सुशानका विषयमा हामी निकै कडा छौँ । गाउँपालिकामा कतै पनि भ्रष्टाचार हुन दिने पक्षमा म छैन । यसका लागि गाउँपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ । भ्रष्टाचार भएको कतै पनि जनगुनासो नआउने गरी काम गर्न गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएको छ । कतै भ्रष्टाचार हुन्छ भने जनतालाई सिधै गाउँपालिकामा उजुरी गर्न सूचित गरेका छौँ ।

 

बहुप्रतीक्षित पञ्चेश्वर परियोजनाबारे यहाँको धारणा के छ ?

पञ्चेश्वर परियोजना बन्छ भनेर मैले पनि सानैमा सुनेको हुँ । अहिलेसम्म बन्ने कुरा निश्चित भएको छैन । नेपाल–भारत दुवै देशले पञ्चेश्वर परियोजना बनाउने विषयमा गम्भीर हुनु पर्छ । पञ्चेश्वर परियोजना बन्यो भने पञ्चेश्वरलाई मात्र होइन, देशकै कायापलट हुन्छ । नागरिकस्तरबाट पञ्चेश्वर परियोजना छिटो बन्नु पर्छ भन्ने आवाज उठेको छ । गाउँपालिकामा आएका यस्ता जनगुनासोलाई हामीले प्रदेश र सङ्घीय सरकारमा पठाउने गरेका छौँ ।