• १ जेठ २०८२, बिहिबार

सुकुमवासी परिवारलाई पुर्जा

blog

छविलाल पाण्डे 

बुटवल, असोज ३० गते । यसअघिका वर्षमा पटक पटक नापी हुँदा पनि जग्गा पाउने आशा गुमाएका रुपन्देही कञ्चन गाउँपालिका–४, सन्डहवाका देवीप्रसाद पौडेललाई यस पटक भने जग्गाको पुर्जा पाउने आशा र विश्वास बढेको छ । २०२९ सालदेखि कञ्चन गाउँपालिकाको सन्डहवामा बसोबास गर्दै आउनुभएका पौडेललाई यस पटक जग्गा जोतभोग गरेको ५१ वर्षपछि पक्कै पुर्जा पाउने आशा पलाएको हो ।

वर्षौंदेखि जग्गा जोतभोग गरे पनि हातमा लालपुर्जा नहुँदा स्थानीय कञ्चनका सुकुमवासीले जग्गा धितो राखेर कुनै पनि कारोबार गर्न पाएका छैनन् । जग्गा धितो राखेर केही कारोबार गरी आत्मनिर्भर बन्न चाहना अधुरो नै रहेको छ । कञ्चनकै विष्णु विकलाई पनि यस पटक लालपुर्जा पाउने आशा जागेको छ । विष्णुलाई पुर्जा राखेर आफूलाई मन लागेको कारोबार गर्न सकिने भएकाले कञ्चन गाउँपालिकाको पहलमा लालपुर्जा पाइने ठुलो आशा लागेको हो । 

कञ्चनका जनप्रतिनिधिको सक्रियताले देवीप्रसाद र विष्णु जस्तै धेरै स्थानीयवासीले यस पटक पुर्जा हातमै पर्ने आशा गरेका छन् । जिल्लामै धेरै सुकुमवासी रहेको कञ्चन गाउँपालिकामा अव्यवस्थित बसोबासीको वर्षौंदेखिको सपना दसैँपछि पूरा हुने भएको हो । 

गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनमा जग्गा नापजाँचको सबै काम सकाएर सूचना प्रकाशित गर्ने अन्तिम तयारी भएकाले सुकुमवासी परिवारले दसैँपछि लालपुर्जा पाउने बताउनुभयो । जग्गा नापजाँचको काम छिटो सम्पन्न गर्न पालिकाको टोली वडाको टोल टोलमा पुगेर पुर्जाका लागि आवश्यक पर्ने हरेक काममा सेवाग्राहीसँग सहजीकरण गरिरहेको पालिकाले जनाएको छ । पुर्जाका लागि सेवाग्राहीले फाराम भर्दा बिग्रिन सक्ने र त्रुटिसमेत हुन सक्ने भएकाले पालिकाले यसरी वडा वडामै पुगेर फाराम भराउन सहजीकरण गरेको अध्यक्ष ढकालको भनाइ छ । 

उहाँले स्थानीय सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर फिल्डमै पुगेर फाराम भर्ने, रुजु गर्ने तथा नापी भएर गएको जग्गाधनीको नाम जिल्ला भूमि आयोगबाट आए नआएको हेर्ने काममा सहजीकरण गरेको जानकारी दिनुभयो । 

रुपन्देही जिल्लामा सबैभन्दा धेरै सुकुमवासी र अव्यवस्थित बसोबासी रहेको पालिकामध्ये कञ्चन गाउँपालिका पनि एक हो । यहाँ १० हजारभन्दा बढी सुकुमवासी परिवारको बसोबास रहेको छ ।