• १ जेठ २०८२, बिहिबार

विद्यालयमा पढ्न पाउँदा उत्साहित

blog

बहिरा अपाङ्ग बालबालिका विद्यालयमा । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज ३० गते । बाँके जिल्ला वैजनाथ गाउँपालिका–१, मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिका रहेका छन् । बाँकेले बहिरा अपाङ्ग बालबालिकाका लागि निःशुल्क रूपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ ।

उक्त बालगृहमा बस्दै आएका बहिरा अपाङ्ग बालबालिकामध्ये श्रीदहित आधारभूत माध्यमिक विद्यालयमा ३७ जना निःशुल्क अध्ययन गरिरहेका छन् भने बाँकी सूर्योदय उच्च मावि चिसापानीमा अध्ययनरत छन् । 

ती विद्यालयमा जुम्ला, हुम्ला, मुगु, कालीकोट, दैलेख, बाँके, बर्दिया, दाङलगायतका विभिन्न जिल्लाबाट आएका बहिरा विद्यार्थीलाई साङ्केतिक भाषामा पढाइने गरेको छ । उक्त विद्यालयमा दोभाषे रूपमा समेत काम गर्दै आउनुभएकी शिक्षिका शान्ति शर्माले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई छुट्टै राखेर पढाउने गरेको बताउनुभयो । त्यसपछि ४ कक्षादेखि ८ कक्षासम्म त्यही विद्यालयमा पढाइने र माध्यमिक तथा उच्च माध्यमिक तहको पढाइका लागि सूर्योदय मावि चिसापानीमा लगिने गरिएको उहाँले बताउनुभयो । 

दिनभर विद्यालयमा र साँझ तथा बिहान बालगृहमा रमाउने विद्यार्थीका लागि चाडपर्वलगायत लामो छुट्टीको बेला आफ्नो आफ्नो घर जाने व्यवस्थासमेत गरिएको छ । बालगृहमा रहेका अधिकांश बालबालिकाले बहिरा अपाङ्ग भएर पनि आफूहरूले पढ्न लेख्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् । 

श्रीदहित आधारभूत माध्यमिक विद्यालयमा हाल दुई जना मात्र बहिरा अपाङ्ग शिक्षक–शिक्षिकाले पढाउँदै आएका छन् । विद्यालयमा साङ्केतिक भाषा पढाउने शिक्षक–शिक्षिकासँगै भौतिक पूर्वाधार जस्तै खेलमैदानको समेत अभाव रहेको विद्यालय व्यवस्थापनले जानकारी दिएको छ ।