• १३ साउन २०८१, आइतबार

सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान

blog

फाइल तस्बिर

मध्यविन्दु (नवलपरासी), असोज २९ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आबद्ध भई वि.सं.२०७६ देखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।

सञ्चालनका समयमा छ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्‍याइएको समूहमा आबद्ध लक्ष्मी अधिकारीले बताउनुभयो । “व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ । चार-पाँच जनाको समूह मिलेर खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “बर्सेनि फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्री वितरण गर्ने गरेका छौँ ।”

अधिकारीका अनुसार समूहले गत वर्ष खेतीका लागि डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी गरेको छ । “अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आकर्षण बढ्न थालेको छ”, उहाँले भन्नुभयो । गैँडाकोट-२ का सरिता कार्कीले सामूहिक पुष्पखेतीबाट राम्रो आम्दानी गरेको बताउनुभयो । 

तिहारमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आकर्षण बढेकाले फूलको बजार राम्रो रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् ।

कावासोती नगरपालिका-७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाउनुभएको छ । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले आठ हजार बोट लगाएको उहाँले बताउनुभयो । “फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुई वर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्न थालेका छौँ”, पराजुलीले भन्नुभयो । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सामूहिक पुष्पखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगदेबालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको केन्द्रका बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभयो । 

उहाँका अनुसार अहिले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा सामूहिक पुष्पखेती गर्ने क्रम बढेको छ । “कृत्रिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक खेतीतर्फ स्थानीय उत्साहित भएको पाएका छौँ”, चौधरीले भन्नुभयो, “जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन केन्द्रमार्फत बीउ उपलब्ध गराउँदै आएका छौँ ।” रासस