स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), असोज २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (सोमबार) बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले सेवाप्रवाहको बारेमा निर्देशनालय प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको छ ।
प्रयोगशालामा एउटा मात्रै रसिद काट्ने काउण्टर भएकोले लामो समय सम्म सेवाग्राहीहरूलाई कुर्नु परेको स्थानीय रामप्रसाद साह लगायतका केही सेवाग्राहीहरूले मुख्य मन्त्रीसँग गुनासो गर्नुभएको थियो । उहाँहरूको गुनासो सुनेपछि मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिनुभएको हो ।
सहुलियत दरमा सेवाग्राहीको गुणस्तरीय जाँच हुने उद्देश्यले निर्माण गरिएको जनस्वास्थ्य प्रयोगशालामा सेवाप्रवाहमा तदारुकता ल्याएर काम छिटो छरितो होस् भन्ने आफ्नो चाहाना रहेको, मुख्यमन्त्री यादवले प्रयोगशालाका निर्देशक डा.श्रवण मिश्रलाई निर्देशन दिनुभएको हो ।
टि.बी., मुटु, लिभर, मिर्गौला जस्ता रोगहरूको जाँच छिटै गर्ने मुख्य मन्त्री यादवको भनाई छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । मधेश प्रदेश सरकारको लगानीमा सञ्चालित प्रयोगशालामा दैनिक सयौँका सङ्ख्यामा बिरामी जाँच गराउन आउनुहुन्छ निर्देशनालयका प्रमुख डा. श्रवण मिश्र बताउनुभएको छ ।
मधेश प्रदेशका पूर्वी र दक्षिणी भागमा पनि स्वास्थ्य प्रयोगशाला बनाउने योजना प्रदेश सरकारको रहेको मुख्यमन्त्री यादवको भनाई थियो ।