• २ जेठ २०८२, शुक्रबार

माटाका भाँडाको व्यापार घट्दो

blog

बिक्रीका लागि प्रकाशपुर बजारमा राखिएका माटाका भाँडा । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की  
वराहक्षेत्र, असोज २९ गते ।
चाडबाडसँगै बजारमा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाको व्यापारमा भीडभाड बढ्दै गएको छ । तर माटाका भाँडाको बजार भने दिन प्रतिदिन खस्कदै जाँदा पुस्तौंदेखि व्यपार गर्दै आएका पण्डित(कुम्भकार) जातिको पेसा अाेरालो लाग्दै गएको छ ।

माटोको भाडोका सट्टा प्लास्टिक, स्टिल, आलमुनियम र धातुका भाँडाकुँडाहरुले बजार लिएपछि पण्डित जातिको पुस्तौंदेखिको पेसा सङ्कटमा पर्दै गएको हो ।

सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने ५१ वर्षीय बद्रीनारायण पण्डित १२ वर्षको उमेरदेखि बाबुको साथ लागेर माटाका भाँडा बनाएर व्यापार गर्दै आउनुभएको थियो । पछिल्लो एक दशकदेखि माटाका भाँडाको व्यापार खस्किँदै गएको छ ।

बजार बजार डुलाएर माटाका  भाँडा, हण्डी, घैला, कन्तारो, हाँडी आदि  बेच्ने गर्नुभएको थियो । “तर पछिल्लो एक दशकदेखि माटाका भाँडाहरु बिक्री हुन छाडेका छन् । बढ्दो प्रविधिसँगै हाम्रो पुस्तौंदेखिको पेसा सङ्कटमा परेको छ,” बद्रीनारायण पण्डितले भन्नुभयो । पहिला इनरुवा, हरिनगरा, झुम्का, प्रकाशपुरका हटिया र गाउँगाउँमा लगेर माटाका भाँडाहरु बेचिन्थ्यो । अहिले दुई वर्षदेखि वराहक्षेत्र १० प्रकाशपुर बजारमा लाग्ने शनिबारे हटियामा मात्रै बजारमा बसेर सामान राख्ने गरेको उहाँले बताउनुभयो ।

पहिला भुजा भुटेर व्यापार गर्नेहरुले माटाको हण्डीदेखि अन्य माटाका सामान किन्ने गरेका थिए । भुजा भुट्ने मेसिन आएपछि हण्डीको व्यापार हुन छाडेको छ । अहिले माटोको भाँडा बनाएको रोजगारीसम्म उठ्दैन । अबको पुस्तामा माटाका सामानहरु लाेप हुने हो कि भन्ने लागेको छ । पहिला कम्तीमा वार्षिक दुईदेखि तीन लाखसम्म हुन्थ्यो । अहिले वर्षको ५० देखि ६० हजार पनि हुन गाह्रो छ । प्रकाशपुरमा शनिबार हटियामा माटोको भाँडाहरु लिएर बस्नुभएका बद्रीनारायणले बताउनुभयो ।

माटोको भाँडा बनाएर व्यापार गर्दै आउनुभएका इनरुवा–४ का सुफरु पण्डित भन्नुहुन्छ, “भाँडा बनाउन चाहिने माटो एक ट्याक्टरको १० हजारमा किन्नु पर्छ । त्यति नै समय र मेहनत भाँडा बनाउँदा लाग्ने गरेको छ । व्यापार नहुँदा दिक्क लाग्छ । तिहारमा माटाको दियो (पाला) राम्रो बिक्री हुन्थ्यो । बजारमा इलेक्ट्रिक दियो आएपछि माटोको दियो बिक्री हुनै छाड्यो ।”

जिल्लाकै विभिन्न ठाउँमा छरिएर दुई दर्जनभन्दा बढी कुम्भकारहरु माटाका भाँडा बनाएर जीविका चलाउँदै आएका छन् । उनीहरुले माटोबाट दियो, चौमुखे दियो, कन्तारी, हाँडी, धुपौरो, घैला, हण्डी, कलश, खुत्रुके, आरीजस्ता सामग्री बनाएर पुस्तौंदेखि हातले र मेसिनबाट सामानहरु बनाउँदै आएका छन् । आफ्नो पुर्ख्याैली पेसा युवा पुस्तामा हस्तान्तरण हुनेमा उनीहरु निश्चिन्त छैनन् । माटाका सामग्रीहरु लोप हुन नदिन राज्यले संरक्षण र संवर्धनमा सहयोग गरिदिनुपर्ने उनीहरु बताउँछन् ।