देवरामप्रसाद यादव
सप्तरी, असोज २७ गते । बढ्दो आधुनिकताका कारण तयारी सामानहरूको प्रयोगमा बढोत्तरी भए पछि तराई मधेशका जिल्लाहरूमा बसोबास गर्दै आएका कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।
दैनिक जीवनमा प्लास्टिक तथा धातु जन्य सामानको प्रयोगका कारण माटोको भाडाले बजार नपाएपछि कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा परेको हो ।
बढ्दो आधुनिकताका कारण माटोको भाडाहरूको साटो स्टिल, प्लास्टिक, अल्मुनियम, तामा तथा पितल लगायतका सामानको प्रयोग बढेपछि माटोको भाडाको माग घट्दै गएको सप्तरीको पत्थरगाडा गाउँका जितन पण्डित (कुम्हार)को दुःखेसो छ ।
उहाँले एक दशक अघिसम्म आफूहरूले बनाएका सामानहरूको माग राम्रो रहे पनि हाल आएर ह्वात्तै घटेको बताउनुहुँदै अहिले हाट बजारमा माटोका सामानहरूको बिक्री हुन छोडेको गुनासो गर्नुभयो । माटोको भाडा–वर्तनको प्रयोगकर्ताहरू घटेपछि कुम्हार जातिका नयाँ पुस्ताका युवाहरू परम्परागत पेसाबाट विमुख हुँदै अन्य पेसा रोज्न बाध्य भएको ५५ वर्षीय जितनको भनाइ छ । उहाँले निक्कै मेहनत समय खर्चिएर बनाएको खाना पकाउने हाँडी, घैटो, कौरना, खापैर, कराही, गाग्री, मटकुडा, गमला, खुत्रुके दियोसहित सामान बजारमा बिक्री नहुने गरेको गुनासो गर्नुभयो । उहाँले माटोको भाडा बनाउन मेहनत धेरै लाग्ने गरे पनि काम अनुसारको कमाइ नहुँदा घरखर्च चलाउन गाह्रो भएको बताउनुभयो ।
यस्तै, अर्का मिश्रीलाल पण्डितले चौठचन्द, दीपावली र छठ पर्वका बेलामात्र माटोको भाडा बिक्री हुने भएकाले उक्त आम्दानीबाट जसोतसो दैनिकी चलाउने बताउनुभयो ।
सन्तानले पुर्ख्यौली पेसा छाडे पनि अहिलेसम्म आफूले निरन्तरता दिँदै आएको बताउनुहुँदै उहाँले आफ्नो शेष पछि पुर्खौली पेसा नै समाप्त हुने चिन्ता उहाँमा छ । माटोको कलात्मक र परम्परागत भाडा बनाउने कार्य निरन्तरता होस् भन्ने सोचाइमा उहाँ हुनुहुन्छ ।