ऐना–केही चिजलाई जस्ताको तस्तै प्रतिरूप देखाइदिने वस्तु, दर्पण । ऐना रामलाल जोशीको सुदूरपश्चिमका दुःख पीडाका घटनालाई उनेर बनाइएको कथानकका कथाहरूको सङ्ग्रह (२०७२) पनि हो । ऐना झ्यालको पुतली ऐनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको सुजित बिडारी निर्देशित चलचित्र (२०७९) । ऐना जोडिएका यी दुई हालैका उदाहरणीय विषय हुन् । ऐना (२०७७) कांग्रेसका तत्कालीन प्रवक्ताले चलाएको एउटा टेलिभिजन कार्यक्रम पनि हो ।
ऐनाका यी मात्र उदाहरण होइनन् अरू अनगन्ती होलान्, छन् । यहाँ ऐनाको प्रसङ्ग साहित्यसँग त्यसको नाता केलाउने प्रयास हो । साहित्यलाई चिनाउन आम प्रयोग हुने अभिव्यक्ति हो– ‘साहित्य समाजको ऐना हो ।’ अर्थात् समाजमा जे छ त्यही कुरा साहित्यमा अभिव्यक्त हुन्छ भन्ने हो तर ऐनाको भौतिक शास्त्रीय कार्यव्यापार वस्तुको प्रतिकृति देखाइदिनु होइन बरु प्रकाशलाई परावर्तन गर्ने हो । अर्थात् वस्तुमा जसरी प्रकाश परेको छ, त्यसैलाई जस्ताको तस्तै परावर्तन गर्नु ऐनाको गुण हो । अर्थात् बढी प्रकाश छ भने आकृति पनि बढी स्पष्ट र प्रकाश कम भए आकृति पनि कम स्पष्ट हुन्छ ।
अँध्यारोमा त ऐनामा प्रतिच्छाया देखिन्न नि ! के राति ऐनाले धोखा दिने हो त ? पक्कै होइन ऐनाले अँध्यारोको पनि अँध्यारो नै प्रतिकृति देखाइदिने हो । अर्थात् सत्य नै देखाइ दिने हो तर हाम्रा आँखाको अर्धसत्यले चाहिँ राति ऐनाले केही नदेखाउने भन्छ । दृष्टिदोष मान्छेको हो, ऐनाको होइन । त्यसो भए के साहित्य समाजको साँच्चिकै ऐना हुन सक्छ ? अथवा साहित्यले समाजको प्रज्वल छाया मात्र चित्रण गर्छ ? समाजमा उज्यालो पक्ष मात्र
हुन्छ ? कि साहित्यले समाजका राम्रा र नराम्रा सबै पक्ष उजागर गर्नु पर्छ ? प्रश्न अनेकन् गर्न सकिन्छ । मान्छे दुःख लुकाउन चाहन्छ, अथवा समाजलाई आफ्ना अन्तरकथा देखाउन सुनाउन चाहँदैन समाजले व्यक्तिलाई उपेक्षा गर्छ तर तिनै व्यक्ति व्यक्तिको पुस्तौँको मेहनतबाट बनेको समाज व्यक्तिप्रति कठोर भइदिन्छ ।
अधिकांश र विशेष गरी भुइँमान्छे ठान्छ, निमुखा व्यक्ति ठान्छ – यो समाज मेरो होइन; थोरै तर तरमारा वर्ग ठान्छ – यो समाज र सत्ता सबै मेरै हो । दुवै समाजका यथार्थ, साहित्यले पहिलो वर्गको अनुहार स्पष्ट देखाउनु पर्छ र पछिल्लोको मुखुन्डो उतार्न सक्नु पर्छ । त्यसका लागि साहित्यमा द्वन्द्व चाहिन्छ । द्वन्द्वकै आधारमा साहित्यमा विभिन्न वाद वा शीलको जामा पनि लगाइन्छ । प्रगतिशीलता द्वन्द्वभन्दा बढी विद्रोहको चेतयुक्त साहित्य हो । त्यसभन्दा अगाडि बढेको साहित्य पनि सिर्जना हुने गरेको छ । खास गरी घोषित विद्रोह वा युद्धको साहित्य त्यसको पक्ष हो । विश्व साहित्य क्षेत्रमा त्यसलाई युद्ध साहित्य (वार लिट्रेचर) का रूपमा चिनाउने गरेको पाइन्छ । शाब्दिक रूपमा त्यो युद्ध अवस्थाको मात्र साहित्य जस्तो लाग्ने भए पनि त्यसमा तीन पक्ष रहेका हुन्छन् ः (१) युद्धपूर्व वा पृष्ठभूमि, (२) युद्ध र (३) युद्ध समाप्तिपछि । यी तीनै अवस्थाका साहित्यलाई युद्ध साहित्यका रूपमा लिने गरिन्छ ।
युद्ध भन्ने बित्तिकै नेपाली समाजमा दुई देशबिचको युद्धको मात्र आमबुझाइ हुन्छ । नेपालले अङ्ग्रेज र भोट तिब्बतसँग लडेका युद्ध विशेष गरी नेपालीले बुझ्छन् । त्यसउता जाँदा नेपाल एकीकरणताकाका युद्ध, मकवानपुर, कान्तिपुर र भक्तपुरका तथा पूर्वका सेन राज्य विस्तारका युद्ध पनि हाम्रो इतिहासका युद्ध हुन् ।
समाजमा हुने अन्य द्वन्द्वले पनि युद्धको रूप लिएका हुन्छन् । खास गरी राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिएका घोषित लडाइँ वा युद्ध पनि उत्तिकै युद्ध हुन् । तिनमा राणा शासनविरुद्ध २००७ सालमा र त्यसपछि पञ्चायती व्यवस्थाविरुद्ध पनि नेपाली कांग्रेसले गरेका सशस्त्र विद्रोह एवं माओवादी जनयुद्ध सबै युद्धका स्वरूप हुन् । यस्ता सबै विषय समेट्दै एउटा नयाँ पुस्तक हालै प्रकाशनमा आएको छ ः नेपाली युद्ध साहित्य ।
पुस्तकले नेपाली भाषामा लेखिएका युद्धसम्बन्धी सबै साहित्य नेपाली युद्ध साहित्य नहुने स्पष्ट पारेको छ । अर्थात् स्पष्ट शब्दमा भन्दा नेपालीले विदेशी सेनामा रहेर विदेशमा गरेको युद्धसम्बन्धी साहित्य नेपाली भाषामा नै लेखिएको भए पनि नेपाली युद्ध साहित्य नभएर नेपाली भाषामा लेखिएका युद्ध साहित्य मात्र हो । ब्रिटिस गोर्खा र भारतीय सेनामा नेपालीले काम गर्दै गर्दा रचना भएका साहित्य नेपाली भाषामा लेखिएको युद्ध साहित्य मात्र हो । त्यस्तै, सन् १९१४ मा भारतमा भएको सेन्य विद्रोह दबाउन गएको जङ्गबहादुर नेतृत्वको सेनाको बखानमा लेखएका सामग्री पनि नेपाली युद्ध साहित्य होइनन् । यसरी युद्ध साहित्यबारेको विष्णु भण्डारीको अनुसन्धानात्मक ऐतिहासिक विवेचना नेपाली साहित्यको विधागत अध्ययनमा युद्ध साहित्यको एउटा स्पष्ट आकृति बनाउँदै युद्ध साहित्यलाई सामाजिक पक्षबाट नियाल्ने ऐना बनेको छ । नेपाली साहित्यको इतिहासमा वीरकाल र भक्तिकाल भनेर काल निर्धारण गर्ने विभाजक तत्व पनि युद्ध नै थियो । युद्धअघिको अवस्थामा जुर्मुराएको जोश र वीर योद्धाहरूलाई समाजले दिएको बलको प्रतिविम्ब वीरकालीन काव्य भए भने सुगौली सन्धिपछिको नेपालको प्राविधि पराजयले सबैको शिर निहुरिएपछि भक्तिधारामा साहित्य बगेको हो तर त्यसलाई युद्ध साहित्यकै कसीमा राखेर हेर्ने काम भने भएको थिएन । भण्डारीले युद्ध साहित्यको काल नै विभाजन गरेर लेख्दा नेपाली समालोचना क्षेत्रमा एउटा फराकिलो आयाम विस्तार भएको छ ।
युद्धमा भएका हिंसा र प्रतिहिंसाको मानवीय परीक्षण बेग्लै पाटो हो । अहिले पनि माओवादी जनयुद्धका पीडाको सत्य निरूपण र मेलमिलापका नाममा सङ्क्रमणकालीन न्यायको तार्किक निष्कर्षको खोजी भइरहेको छ । यो पनि युद्धले चोइट्याएको समाजको एउटा पाटो हो । साहित्यको ऐनामा यसको पनि उतार आउने व्रmम जारी छ । युद्ध भन्नु नै अस्तव्यस्त अवस्था हो । त्यसका पूर्वयोजनाबद्ध साहित्यिक सामग्री नहुने नै सम्भावना बढी हुन्छ । त्यसको खोजी पनि कठिन हुन्छ । तापनि विसं १४५० देखिका केही युद्ध साहित्यसमेत परिशिष्टमा राखेर दिनु यस पुस्तकको विशिष्टता हो ।
युद्ध जित्नेको इतिहास लेखिने सन्दर्भमा पीडितको इतिहास यस्ता साहित्यिक खोजीबाट लेखिन्छ । यसै सन्दर्भमा नेपालको राज्य विस्तार भएको हालको भारतको कुमाउँ गडवाल क्षेत्रमा नेपाली सेनाले दिएको दुःखका पाटा केलाउने गरेको पाइन्छ तर त्यहाँ अङ्ग्रेजको शासन स्थापना भएपछि जनता कति पीडित थिए भन्ने त्यसबेलाको एउटा उपहास कविताले पुष्टि गर्दछ ।
सुगौली सन्धिका कारण कुमाउँ र गढवाल नेपालले गुमाए पनि त्यहाँका बासिन्दा फिरिङ्गी (अङ्ग्रेज) को शासनबाट अझ प्रताडित भए । अङ्ग्रेजले सबै जमिन सरकारीकरण गरेर वितरण गर्दा उनीहरू आक्रोशित भएका थिए । त्यसैलाई आधार बनाएर जमिन वितरणको नयाँ प्रणाली, देवानी र फौजदारी मुद्दाहरूमा नयाँ व्यवस्था, श्रीमान् र श्रीमतीलाई समान अवस्थामा राख्ने कानुनलगायत विषयमा आक्रमण गरिएको पाइन्छ ।
‘सुगौली सन्धिपछि कुमाउको पीडा एक कवितामा’ शीर्षकमा गरिमा वर्ष : ३६, अङ्क : ६, पूर्णाङ्क : ३९१, जेठ : २०७४ मा यस समीक्षकले त्यसबारे विवेचना गरेको छ ।
कविताको पहिलो श्लोक नै यस्तो छ :
कलकत्ता बटो फिरंगि आयो ।
जाल जमाल का बोजा बाँदि लायो ।। १ ।।
‘कृष्णा पाँडैको कलियुग’ शीर्षकको १३ श्लोकको कविता रोयल एसियाटिक सोसाइटी ग्रेट ब्रिटेन एन्ड आयरल्यान्डको सन् १९०१ को जर्नलमा प्रकाशित छ । भारतीय भाषा सर्वेक्षणको जिम्मेवारी पाएका बेलायती भाषाविद् जर्ज ए. ग्रियर्सनले सो कविताको समीक्षासहित ‘एन ओल्ड कुमाउनी सटायर’ (एउटा पुरानो उपहास) शीर्षकमा प्रकाशन गरेका हुन् ।
कृष्ण पाँडैको उक्त प्रतिनिधि कविताले नेपालबाट अलग भएपछिको कष्टकर जीनव यापन अवस्था र बेलायती शासनमा स्थानीयले पाएको दुःख र पीडालाई मार्मिक उपहासपूर्ण रूपमा चित्रण गरेको छ । ग्रियर्सनका अनुसार यस्तो कविता गीति लयमा बेलायती शासकको उपस्थितिमा पनि गाइन्थ्यो, उनीहरू त्यसलाई राम्ररी सुन्दथे पनि । विष्णु भण्डारीको युद्ध साहित्यमा नेपाली साहित्यका प्रायः सबै परम्परागत विधामा युद्ध साहित्यको खोजी र विवेचना छ । विशेष गरी माओवादी जनयुद्धको सेरोफेरो र शान्ति प्रक्रियाका चरणमा पनि रचना भएका साहित्यलाई युद्ध पूर्वको, युद्धको तथा युद्धपछिको साहित्यलाई पर्गेल्छ ।
अधिकांश मानिसको कामना हुन्छ भविष्यका कुनै पनि प्रकारका युद्ध नहुन् तर समाजका विभिन्न किसिमका अन्याय अत्याचार शोषण उत्पीडन जस्ता आन्तरिक र बाह्य कारणले पनि द्वन्द्वका रूपमा युद्धपूर्वको सामाजिक अवस्थालाई वीजका रूपमा राखिराखेको हुन्छ । बाह्य युद्धका लागि संसारका प्रायः देशहरूले सेना र हातहतियारका लागि र शान्तिका नाममा संयुक्त राष्ट्रसङ्घ र अन्य निकायमा हुने लगानीमा पनि द्वन्द्व र कता कता युद्ध साहित्यको शक्ति सञ्चय भएको प्रतीत हुन्छ । झन्डै पाँच सय पृष्ठको भुँडी पुराण प्रकाशनको पुस्तक ‘नेपाली युद्धसाहित्य’ नेपाली द्वन्द्व र युद्धको तस्बिर देखाउने ऐना हो भन्न सकिन्छ ।