• १ जेठ २०८२, बिहिबार

सामाजिक सञ्जाललाई समाजको हितमा प्रयोग गर्न सुझाव

blog

कार्यक्रममा सहभागि धार्मिक तथा सामाजिक अगुवा । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज २५ गते ।
 सामाजिक सञ्जाललाई समाजको हित र फाइदाका लागि प्रयोग गर्नुपर्ने नेपालगन्जका धार्मिक तथा सामाजिक अगुवाहरूले सबैलाई सुझाव दिनु भएको छ ।

उहाँहरूले सामाजिक सञ्जालको प्रयोग समाजलाई सद्भाव र सही दिशानिर्देश गर्नका लागि गर्नुपर्ने जनाउँदै यसबाट समाजलाई अहित हुने काम कसैले पनि गर्न नहुनेमा जोड दिनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले उहाँ आयोजना गरेको स्थानीय प्रशासन, अधिकारकर्मी, धर्मगुरु र स्थानीय अगुवासहितको सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीले सो सुझाव दिनुभएको हो ।

बागेश्वरी मन्दिरका मुख्य पुजारी चन्द्रनाथ योगीले सामाजिक सञ्जालमा लेखिएको आपत्तिजनक कुराबाट सामाजिक सद्भाव भड्किने सम्भावना अत्यधिक रहेकोले कसैले पनि आपत्तिजनक टिका टिप्पणी गर्न नहुने बताउनुभयो ।

उहाँले सबैले देश र समाजप्रतिको आ–आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरेर सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सधैँ क्रियाशील रहनु पर्नेमा जोड दिनुभयो ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले समाजमा भाइचारा र सह अस्तित्वका साथ एकले अर्कालाई सम्मान गर्न आग्रह गर्दै शान्ति र सदभावका लागि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि धर्मले विभाजन र विद्वैषको सन्देश नदिने कुरामा जोड दिँदै अवफाह र हल्लाको पछाडि लागेर समाजमा विखण्डन ल्याउने काम कसैले पनि गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जमा सामाजिक सद्भाव र शान्तिका लागि सबैले मिलेर गरेको प्रयास निकै सकारात्मक रहेको बताउनुभयो । उहाँले कसैले पनि कसैको आस्थामाथि चोट पुग्ने काम नगर्न आग्रह गर्नुभयो ।

प्रहरी प्रशासनले सामाजिक सञ्जालमा कडा निगरानी राख्न सुरु गरेको जनाउँदै समाजमा अशान्ति फैलाउन खोज्नेलाई कारबाही गरिने पनि सो अवसरमा प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारी, ईन्सेका भोला महत, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरलगायतले नेपालगन्जमा शान्ति र सदभाव कायम राख्नका लागि आ–आफ्नो सुझाव सल्लाह दिनु भएको थियो ।