• १२ साउन २०८१, शनिबार

कोरियन उपप्रधानमन्त्रीसँग अर्थमन्त्री महतको भेटवार्ता

blog

कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

मोरक्को, असोज २५ गते । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाई रहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चूँ क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताउनुभयो ।

 ‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी, भारतीय कम्पनी आइटी सी इन्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाई रहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भन्नुभयो,‘ हामीहरूले चालू आर्थिक वर्षको बजेट मार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।’

नेपाल सरकारले इज अफ डुइङ बिजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताउनुभयो । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भन्नुभयो, ‘जलविद्युत उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’

नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गर्नुभएको हो ।  

‘अहिले तपाईँहरू सङ्घर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठुलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,’ मन्त्री महतले भन्नुभयो, ‘निजी क्षेत्रले दीर्घकालमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’

मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनु भएको छ । भेटमा कोरियन अर्थमन्त्री चूँ क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्‍याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताउनु भयो । उहाँले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गर्नुभयो । जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री चूँ क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथाशक्य छिटो एजेन्डा तय गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जीवनस्तर सुधार गर्न आफूहरू सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगति गरे पनि कमजोर प्रसारण लाइनले जलविद्युत क्षेत्रबाट पर्याप्त लाभ लिन नसकेकाले नेपालको प्रसारण लाइन निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो ।

बैठकका क्रममा कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वर्ल्ड एक्सपो आयोजना गर्न खोजेकाे भन्दै नेपाललाई सहयोग गर्न आग्रह गर्नुभयो । इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताउनु भयो ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चूँ क्यूङलाई अर्थमन्त्री डा। महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गर्नुभयो । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतले बताउनुभएको हो । 

अन्तर्राष्ट्रिय मुद्रा कोष [आइएमएफ] र विश्व बैङ्कको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुग्नुभएका अर्थ मन्त्री महतले कोरियाली अर्थ मन्त्रीसँग साइड लाइनमा वार्ता गर्नुभएको हो । ‘कोरियाबाट एउटा मात्रै वायुसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरूले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भन्नुभयो,‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथै नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’

नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रह पछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषय पुर्‍याउने बचन दिनुभएको छ । ‘तपाईँले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चूँ क्यूङले भन्नुभयो, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्‍याउने छु ।’