• २० कात्तिक २०८२, बिहिबार

ठेकेदारको बदमासीले स्थानीयलाई सास्ती

blog

मलङ्गवास्थित कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक २० गते । ठेकेदारको बदमासीका कारण हुलाकी राजमार्ग कालोपत्रे नहुँदा सदरमुकाम मलङ्गवाका स्थानीय धुलोको मार खेप्न बाध्य छन् । 

पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत अन्य भागमा यसअघि कालोपत्रे भए पनि मलङ्गवा बजारको मुख्य भागमा सात सय मिटर सडक अधुरो छ । मलङ्गवाको टावरचोकदेखि झन्डाबजारसम्मको सडक बर्सौंदेखि अलपत्र रहँदा स्थानीय र यात्रु धुलोबाट हैरान छन् । 

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले बारम्बार आन्दोलन गर्दै आइरहेका छन् । सडक कालोपत्रेका लागि दबाब दिन स्थानीयले मङ्गलबार भेला गरेरै मलङ्गवा नगर संरक्षण तथा सुधार समिति नै गठन गरेका थिए ।

सोही समितिको अगुवाइमा बुधबार बिहान राजमार्गमा चक्काजाम गरिएको छ । समितिका अगुवा एवं मलङ्गवा नगरपालिका–२ का स्थानीय सोहन झाले सडक कालोपत्रेको मागसहित बारम्बार आन्दोलन गर्दा पनि ठेकेदारले आलटाल गर्दै आइरहेको गुनासो गर्नुभयो । 

झाका अनुसार सडक कालोपत्रे गर्न दबाब दिने उद्देश्यले बुधबारदेखि अनिश्चितकालीन चक्काजाम सुरु गरेपछि ठेकेदारले निर्माणमा प्रयोग हुने सवारीसाधन ल्याएर निर्माण सामग्री खसाल्न थालेपछि तत्कालका लागि आन्दोलन रोकिएको छ । 

मलङ्गवा बजार क्षेत्रको सडक कालोपत्रे गर्न हिमडुङ एन्ड ठोकर÷हिरा एन्ड नमिता जेभीले २०७३ साल असार मसान्तभित्र काम सक्ने गरी ठेक्का पाएको थियो । २०७६ सालमै कालोपत्रे भइसक्नुपर्ने सडक अहिलेसम्म अलपत्र छ । सडक विभागले सडक कालोपत्रेका लागि अहिलेसम्म सात पटक म्याद थप गरिसकेको छ । निर्माण व्यवसायीलाई अन्तिम पटक दिइएको म्याद गत असोज ३१ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । 

कार्यालयका इन्जिनियर रञ्जित रायले ठेकेदारलाई आठौँ पटक पुनः म्याद प्रदान गर्ने प्रव्रिmया अगाडि बढेको जानकारी दिनुभयो । इन्जिनियर रायले भन्नुभयो, “ठेक्का थप गर्ने प्रव्रिmया अगाडि बढेको थियो तर जेनजी आन्दोलनपछि रोकिएको हो । अहिले म्याद थप्ने र ठेकेदारलाई काम गर्न ताकिता दिने काम भइरहेको छ ।” 

ठेकेदारले निकै सुस्त गतिमा काम गरेको इन्जिनियर रायको भनाइ छ । स्थानीयले अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठेकेदार चन्द्रिका साहलाई हिजो कार्यालयमै बोलाएर स्थानीयसँगै राखेर छलफल गराएको थियो । 

छलफलमा ठेकेदार साहले सडक कालोपत्रेको बाँकी काम तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका इन्जिनियर रायका अनुसार मलङ्गवा बजारको कालोपत्रे हुन बाँकी सात सय मिटर सडकमा अहिलेसम्म बेस बिछ्याउने काम मात्रै भएको छ ।