• २० कात्तिक २०८२, बिहिबार

करोडौँका संरचना अलपत्र

blog

फाइल तस्बिर

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक २० गते । रुकुमपश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणका क्रममा गरिएको बसपार्क निर्माण पूरा भएको महिनौँसम्म प्रयोगमा आउन सकेको छैन । निर्माण भएर गत पुसमै चौरजहारी नगरपालिकालाई हस्तान्तरण गरिएको बसपार्क हालसम्म सञ्चालनमा आउन नसकेको हो । 

निर्माण भएको बसपार्क सञ्चालन र रेखदेखसमेत नहुँदा लथालिङ्ग बन्दै गइरहेको छ भने बजार क्षेत्रमा यातायातका साधन अव्यवस्थित रूपमा पार्किङ गर्ने गरिएको छ । यसका कारण बजारको सौन्दर्य खोसिएको छ भने ट्राफिक व्यवस्थापनमा झमेला हुने गरेको छ । 

नयाँ सहर आयोजना कार्यालय चौरजहारी रुकुमपश्चिमले निर्माण गरेको चौरजहारी बसपार्क २०८१ पुस ११ गते चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले उद्घाटन गर्नुभएको थियो । यो बसपार्क उपयोग तथा सञ्चालनको जिम्मेवारी पनि चौरजहारी नगरपालिकाकै हो । 

आयोजना कार्यालयले नवनिर्मित बसपार्क उद्घाटनकै दिन नगरपालिकालाई हस्तान्तरण गरिसकेको जनाएको छ । बसपार्क निर्माणका लागि नयाँ सहर आयोजना कार्यालयबाट सात करोड १६ लाख ४१ हजार ३०६ रुपियाँ खर्च भएको छ । विभिन्न पाँच प्याकेजमा खर्च भएको यो रकमले बसपार्क क्षेत्रको सडक कालोपत्रे, बसपार्कको सुरक्षित घेराबार, बाथरुम तथा शौचालय निर्माण, टिकटघर तथा भाडामा दिन मिल्ने पाँच वटा सटरसहितका कोठा निर्माण भएका छन् । 

हालसम्म पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यसका कारण एकातिर करोडौँको संरचना प्रयोगविहीन भएर लथालिङ्ग बन्दै गइरहेको छ भने अर्कातिर राज्यलाई प्राप्त हुने राजस्व पनि गुमिरहेको छ । चौरजहारीमा मुख्य कार्यालय रहेको मातृभूमि यातायात प्रालिका अध्यक्ष तिलक बस्नेतले नगरपालिकाले बसपार्क सञ्चालनमा लापर्बाही गरिरहेको बताउनुभयो । उहाँले आफ्नो समितिलाई बसपार्क सञ्चालनको जिम्मा दिए वार्षिक १० लाख रुपियाँ राजस्व तिर्न तयार रहेको नगरपालिकासमक्ष दर्साउँदा पनि नगरपालिकाले वास्ता नगरेको दाबी गर्नुभयो । 

यातायात व्यवसायीले बसपार्क सञ्चालनमा नरहेकाले साना तथा ठुला गाडी पार्किङमा समस्या हुने गरेको बताएका छन् । मुख्य बजार क्षेत्रमै गाडी थन्क्याउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । 

यस विषयमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बसपार्क सञ्चालनका लागि आवश्यक कानुन निर्माण गरेर ठेक्का प्रक्रियामा लैजाने तयारी भइरहेको बताउनुभयो । कार्यविधिबिना सञ्चालन गर्दा कानुनी व्यवधान हुने भएकाले त्यसैको तयारीका क्रममा केही ढिलाइ हुन गएको तर छिट्टै सञ्चालन गरिने उहाँको भनाइ छ ।