• २० कात्तिक २०८२, बिहिबार

चक्रेश्वर मेलामा भलिबल र भजन प्रतियोगिता हुँदै

blog

शान्तिपुर चक्रेश्वर मेला । फाइल तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल 

रेसुङ्गा(गुल्मी), कात्तिक २० गते । गुल्मीको शान्तिपुर चक्रेश्वर मेलामा दुई लाख राशीको पालिका स्तरीय भलिबल र ४० हजार राशीको लोक भजन प्रतियोगिता हुने भएको छ ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लबको आयोजनामा चक्रेश्वर मेलामा भलिबल र भजन प्रतियोगिता आयोजना गरिने भएको हो ।  

भलिबलको लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश : दुई लाख, एक लाख १० हजार, ६० हजार र ३० हजार मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको उदय शान्ति युवा क्लबका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइक, उत्कृष्ट सर्भर, सबैभन्दा मूल्यवान खेलाडी र उत्कृष्ट प्रशिक्षकको लागि पनि पुरस्कारको ब्यवस्था गरिएको छ । 

त्यस्तै, भजन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश : ४०, २० र १० हजार रुपियाँको व्यवस्था गरिएको क्लबले जनाएको छ । 

साढे दुई दशकदेखि उदय शान्ति युवा क्लबले चक्रेश्वर मेला आयोजना गदै आएको छ । बालाचर्तुदशीमा धार्मिक कार्यक्रम बाहेक खेलकुद, बालउद्यान सहितको मनोरञ्जनात्मक खेल, चर्चित इन्देणी कार्यक्रमको प्रस्तुती र राष्ट्रिय लोक दोहोरी गायिका शान्ति श्री परियारसहितका बेजोड साङ्गीतिक कार्यक्रम रहने क्लब अध्यक्ष थापाले बताउनुभयो ।

 बालाचर्तुदशीका दिन मंसिर ३ गते चक्रेश्वर मन्दिरमा विशेष पुजा हुने गर्दछ । मन्दिरमा गीता पाठ, होम, जलधारी, सतबिज छर्ने, तोरण तार्ने र भजनकीर्तनसहित सांस्कृतिक कार्यक्रम गरिने चक्रेश्वर मन्दिर व्यवस्थापन समित गोपाल प्रसाद शर्माले बताउनुभयो ।