• २० कात्तिक २०८२, बिहिबार

तातोपानी नाकाबाट व्यापार सहज बनाउन अनुरोध

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, कात्तिक २० गते । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले तातोपानी नाकाबाट कन्टेनर छोड्न र रसुवा नाकाको मितेरी पुल छिटो निर्माण गर्न चीनको दूतावासलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष रामहरि कार्की नेतृत्वको टोलीले दूतावासको इकोनोमिक एन्ड कमर्सियल काउन्सिललाई त्यस्तो अनुरोध छ । 

सङ्घले काउन्सिल कार्यालयका द्वितीय सचिवलाई लिखित र मौखिक रूपमा तातोपानी नाका र रसुवा नाकाका समस्या राखेको जनाएको छ । तिब्बतको न्यालम, खासा र विभिन्न भागमा मालवस्तु बोकेको कन्टेनर अलपत्र परेको, रसुवा नाकामा पुल निर्माणमा ढिलाइ हुँदा व्यापारिक गतिविधि ठप्प भएकोलगायतका समस्याबारे जानकारी गराएको अध्यक्ष कार्कीले बताउनुभयो ।  नेपाली व्यापारी व्यवसायीले खरिद गरेका सामान तिब्बतको न्यालम प्रशासनले आयातमा कडाइ गरेकाले त्यसमा सहजीकरण गरिदिन, रसुवा नाकाको मितेरी पुल छिटो निर्माण पूरा गर्नका लागि काउन्सिलको ध्यानाकर्षण गरिएको कार्कीले बताउनुभयो । न्यालम प्रशासनले तातोपानी नाकाबाट दैनिक रूपमा ६० वटाभन्दा बढी कन्टेनर छाड्नुपर्ने बताइएको थियो ।

न्यालम प्रशासनले कडाइ गरेपछि चाडपर्वका सामान तातोपानी नाका ल्याउन नसकिएकाले अहिले कन्टेनरको सङ्ख्या बढाउन भूमिका निर्वाह गर्न काउन्सिललाई आग्रह गरिएको थियो । 

असार २४ गते रसुवास्थित केरुङ नाकाको मितेरी पुल बाढीले बगाएपछि नेपाल–चीनबिचको स्थलमार्गबाट हुने व्यापार र आउजाउ पूर्ण रूपमा बन्द भएको अहिले चार महिना बितेको छ । 

काउन्सिलका अधिकारीले तातोपानी नाका, केरुङ नाकाको पछिल्लो अवस्था, व्यापार र समस्याका विषयमा सम्बन्धित निकायमा बुझ्ने प्रतिक्रिया पाएको अध्यक्ष कार्कीले बताउनुभएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि चीनले सीमाक्षेत्र खासामा पुनर्निर्माण भइरहेकाले पर्याप्त परिमाणमा कन्टेनर छाड्न आलटाल गरिरहेको छ । अहिले दैनिक २० वटासम्म कन्टेनर छाड्दै आएको छ । पहिले दैनिक ६० वटाभन्दा बढी मालवस्तु बोकेका कन्टेनर छाड्ने गरेको थियो ।